समाचार
गल्याङमा शिशु स्वास्थ्य सम्बन्धी अभिमुखिकरण
रेडियो आँधीखोला
वालिङ, १२ माघ ।
स्याङ्जाको गल्याङमा शिशुको स्वास्थ्य रक्षा र स्तनपानको महत्व प्रवद्र्धन गर्न अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
गल्याङ नगरपालिकामा आइतबार भएको कार्यक्रममा आमाको दुधको विकल्पमा प्रयोग गरिने वस्तुहरुको अनियन्त्रित बिक्री वितरणले जनस्वास्थ्यमा पारेको जोखिम र यसलाई कानुनी रुपमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा शिशुको सर्वाङ्गीण विकासका लागि जन्मिएको १ घण्टा भित्र, ६ महिनासम्म स्तनपान र त्यसपछि अन्य पूरक आहारका साथै कम्तीमा दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य रहेको जनाकारी दिईएको छ । बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनहरुलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने पनि कार्यक्रममा छलफल भएको छ ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले बच्चाको लागि आमाको दुधजस्तो महत्व केही पनि नहुने भएकाले जनचेतना अभिबृद्धिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सबै पक्ष जागरुक भएर स्तनपानको महत्व फैलाउनुपर्नेमा जोड दिनुभयो । नेपालीले स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दुध अमृत समान मानिएको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु ओलीले आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्नेलाई कानुन अनुसार हुने दण्ड र सजायका बारेमा जानकारी गराउनुभएको थियो ।
स्वागत मन्तव्यका क्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत मित्र अर्यालले स्तनपानको महत्व तथा ऐनका बारेमा सम्पुर्णलाई जानकारी गराउदै जनचेतना जगाउन सरोकारवालाहरु सबै लाग्नुपर्नेमा जोड दिनुभयो । जनस्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विसर्जना थापाले गर्नुभएको थियो ।