समाचार
प्रमाण साप्ताहिक पत्रिका र अनलाईन पोर्टल सार्वजानिक
रेडियो आँधीखोला,
वालिङ १२ माघ ।
प्रमाण मिडिया गु्रप वालिङले साप्ताहिक पत्रिका र अनलाईन न्युज पोर्टल सार्वजानिक गरेको छ । सत्य, तथ्य र प्रमाण एकैसाथ भन्ने नाराका साथ प्रमाण मिडिया गु्रपले साप्ताहिक पत्रिका र अनलाईन सार्वजानिक गरेको हो । सोमबार नगरपालिका सभाहलमा नगरप्रमुख कृष्ण खांणले प्रमाण न्युज साप्ताहिक पत्रिकाको विमोचन र प्रमाण न्युज डटकम अनलाईन सार्वजानिक गर्नुभएको हो । राज्यको चौँथो अंगको स्थानमा राखिएको संचार जगतले देशका हरेक महत्वपुर्ण आन्दोलन र उपलब्धीमा महत्वपुर्ण भुमिका खेल्दै आएको नगरप्रमुख खांणले बताउनुभयो । बढ्दो प्रविधिको युगमा संचार जगत पनि प्रविधिमैत्रि बन्दै जानुपर्ने बताउँदै समाजमा सत्य, तथ्य सूचना प्रवाह गर्दै नागरिकलाई सूसुचित गराउनुपर्ने नगरप्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य हिमलाल पराजुली, जनपत्रकार महासंघ केन्द्रिय सदस्य धु्रव गौडेल, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यक्ष तथा वालिङ टेलिभिजनका संचालन जोगराज पाठक, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपि खनाललगायतले अवसर र सुनौतीसंगै भएको संचार क्षेत्रलाई मर्यादित बनाउँदै सभ्य समाज निर्माणका लागी मिडियाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रमाणन्युज डटकमका कार्यकारी निदेर्शेक मोहन गुरुङले चालु आर्थिक वर्ष सम्म जिल्ला प्रशासन कार्यालयमा दैनिक १, साप्ताहिक १९, पाक्षिक १, द्धैमासिक १ र त्रैमासिक २ गरी २४ पत्रिका दर्ता गरिएपनि जिल्लामा नियमित रुपमा प्रकाशन हुने संख्या निकै कम रहेको भन्दै प्रमाण मिडिया गु्रपले सत्य, तथ्य र प्रमाणका साथ आफ्नो सामाग्रीहरु प्रकाशन गर्ने भन्दै मिडियाको लक्ष्य, उद्देश्य र भावी योजनाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रम मिडिया गु्रपका अध्यक्ष गोपाल जिटिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यकारी सम्पादक नारायणप्रसाद कोईराला र संचालन सम्पादक कला रानाले गर्नुभएको थियो ।