समाचार
भाग्योदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुरु
रेडियो आँधीखोला,
वालिङ १२ माघ ।
स्याङ्जाको भीरकोट नगरपालिका –६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुरु भएको छ । स्वर्ण महोत्सवको उद्दघाटन तथा स्वर्ण स्तम्भ अनावरण गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले पछिल्लो समय प्रविधिको प्रयोग बढिरहेका बेला विद्यालयमा पनि धेरै भन्दा धेरै प्रविधिका विषयलाई समेट्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुलाई प्रविधिको प्रयोग गर्दै दक्ष बनाउनुपर्ने भन्दै समयअनुकुल शिक्षा आजको आवश्यकता रहेको प्रमुख जिटिले बताउनुभयो । विद्यालयलाई सयौँ वर्षसम्म टिकाई राख्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने र सामुदायिक विद्यालयमा अभिभावकहरुको आर्कषण अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले सामुदायिक विद्यालयमा राज्यले धेरै लगानी गरेको भन्दै लगानीअनुसारको प्रतिफल अभै पनि प्राप्त हुँन नसकेको बताउनुभयो । साथै उहाँले स्र्वण महोत्सव मनाउन सफल विद्यालयमा आवश्यक सहयोग गर्ने भन्दै विद्यालयमा खेलमैदानको अभाव देखिएको भन्दै यसका लागी पहल गर्ने तिवारीले बताउनुभयो ।
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भाग्योदय मावि भीरकोटकै नमुना विद्यालय रहेको भन्दै विद्यालयलाई जिल्लाकै नमुना विद्यालयको रुपमा विकास गनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक तोयनाथ अर्याल, शिक्षा समन्वय प्रमुख विश्वराज आचार्य, अक्षयकोषदाता डा.आनन्द रेग्मी, प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्ल, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार माया राना, भीरकोट नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेनद्र केसी, डा. तुल्सीप्रभासलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन विद्यालयका पुर्व विद्यार्थी खेमराज रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालय ५० औं वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउँदैछ ।
भीरकोटमा नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको विद्यालयमा साधारण शिक्षातर्फ ४ सय ६४ जना र प्राविधिक शिक्षा तर्फ २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पूर्व प्राथमिक तहदेखि १२ कक्षा सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुने यो विद्यालयमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि प्राविधिक पढाइ भैरहेको छ । विविध शैक्षिक, सांस्कृतिक कार्यक्रम, शैक्षिक मेला, बालप्रतिभा प्रदर्शनी र अतिरिक्त क्रियाकलापसहित १४ गते सम्म विद्यालयले स्वर्ण महोत्सव मनाउँदैछ ।