समाचार
निर्वाचनका बेला उम्मेदवारले मात्रै आशा र वाचा गर्छन् जितेपछि बिर्सन्छन्
रेडियो आँधीखोला
वालिङ, १७ माघ ।
निर्वाचनका बेला उम्मेद्वारले आशा र वाचा मात्रै बांढ्ने तर निर्वाचन जितेपछि ति आशा निराशामा र वाचा अधुरै रहने स्याङ्जाका मतादाताहरुले गुनासो गरेका छन् । स्याङ्जाको वालिङमा शुक्रबार भएको मतदाताको प्रश्न उम्मेदवारको जवाफ कार्यक्रममा मतादाताहरुले यस्तो गुनासो गरेका हुन् । यहाँको आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्गको स्तरोन्नति विषय चुनावी एजेण्डा मात्रै बन्ने गरेको भन्दै यस्ता महत्वपुर्ण चुनावी एजेण्डामा मात्रै सिमित हुँदा स्याङ्जा तथा स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङ ओझेलमा परेको मतदाताहरुको गुनासो छ । वालिङ ८ का मतदाता प्रकाश अर्यालले भन्नुभयो, “हरेक निर्वाचनमा उम्मेदवारहरुले वाचा र आशा देखाउछँन तर ति वाचा अधुरा रहँदा आम नागरिकमा नैराश्यता छाएको छ ।”
सिद्धार्थ राजमार्गको मुख्य भागमा रहेको स्याङ्जामा किन विकास दु्रत गतिमा अगाडि बढ्न सकेको छैन भन्दै मदाता श्याम डुम्रेको प्रश्न थियो । प्रशासनिक रुपमा अब्बल मानिएको जिल्लाबाट नेतृत्व तहमा पनि विभिन्न पार्टीबाट प्रतिनिधित्व गरेपनि आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्ग ओझेलमा परेको मतदाताहरुको गुनासो थियो । त्यस्तै मतदाता रमेश अर्यालले बारबारा फाउण्डेसनसंग जोडिएका व्यक्तिहरुलाई रास्वपाले निकै प्रचारप्रसार गरेको भन्दै राष्ट्रियताको सवालमा रास्वपाको परराष्ट्र निति कस्तो रहन्छ भन्दै प्रश्न गर्नुभएको थियो ।
जुन गतिमा विकास हुनुपर्ने हो तर उक्त गतिमा विकास हुन नसकेको स्वीकार गर्दै २०४६ अगाडिको समय र त्यसपछिको समय तुलानात्मक रुपमा हेर्ने हो भने विकास गाउँगाउँमा पुगेको नेकपा एमालेका उम्मेदवार खिम थापाको भनाई थियो । स्याङ्जाको वालिङमै सुविधा सम्पन्न अस्पताल निर्माण गरी व्यवस्थित रुपमा संचालन गर्ने आफ्नो मुख्य एजेण्डा भएको भन्दै बाँदर नियन्त्रणको लागी निति नबनाईकन नियन्त्रण गर्न नसकिने बताउदै बाँदर नियन्त्रणको एजेण्डा आफ्नो प्रमुख एजेण्डा रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा रास्वपाका उम्मेदवार झविलाल डुम्रेले ग्रामिण क्षेत्रको दिगो विकासले नै मुलुकमा समृद्धि प्राप्त गर्न सकिने भन्दै आईटिलाई सहि रुपमा प्रयोग गनुपर्ने बताउनुभयो । यसरी ग्रामिण क्षेत्रको विकासलाई शसक्त रुपमा अगाडि बढाउनु नै आफ्नो प्रमुख एजेण्डा रहेको डुम्रेले बताउनुभयो । एजेण्डामा मात्रै सिमित रहेका आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्गको स्तारोन्नतिलाई मुर्त रुप दिँदै पर्यटनको विकासमा आफ्नो मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विश्वकर्मा, राप्रपाका उम्मेदवार रविन पाठक, नेशनल रिपब्लिक पार्टीका तेजबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र गैह्रे, जय मातृभुमि पार्टीका धनबहादुर थापाले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला स्याङ्जाका मतदाताले आगामी उम्मेदवारसंग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष प्रकाश डुम्रेले बताउनुभयो । अकला आवाज साप्तहिकका अध्यक्ष तथा प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकला आवाजका प्रबन्धक धु्रर्व गौडेल र पत्रकार हिमलाल पराजुली एवम् केपी खनालले सहजीकरण गर्नुभएको थियो भने स्वागत कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियो । कार्यक्रम अकला आवाज साप्ताहिकको आयोजनामा गरिएको हो ।