समाचार
वालिङ महोत्सवको चौँथोे दिन दर्शकको उल्लेख्य सहभागिता
रेडियो आँधीखोला
वालिङ, १८ माघ ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको चौँथो दिन शनिबार पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । शनिबारदेखि भजन गीत प्रतियोगिता पनि शुरु भएको छ । परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सवमा रत्यौली गीत प्रतियोगिता, देखि भजन गित प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै विद्यालय स्तरीय नृत्य, आमा नृत्य र स्याङ्जा डान्स आईडल पनि संचालन गरिएको छ ।
चौँथो दिन शनिबार सुगमसंगितका चर्चित गायक शिव परियारले दर्शकलाई निकै मनोरञ्जन प्रदान गर्नुभएको थियो भने लोक तथा दोहोरीतर्फ खुमन अधिकारी, सविना गुरुङ, लक्ष्मण ठकुरी, कमला गैह्रेको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए । त्यस्तै हास्यतर्फ पुरुषोत्तम भण्डारीको प्रस्तुति रहेको थियो भने आशिका श्रेष्ठको नृत्य प्रस्तुति समेत रहेको थियो । त्यस्तै आईतबारको विषेश आर्कषणको रुपमा लोकप्रिय गायिका मेलिना राईको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका सचिव पिताम्बर खनाल शुसिलले जानकारी दिनुभयो । त्यस्तै सरस्वति लामिछाने, राम्जी पौडेल, दिपेन्द्र केसी, रविना गुरुङ, पूजा गुरुङ र नृत्यकार सभ्यता काफ्लेको प्रस्तुति रहनेछ ।
विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास गरिएको छ । महोत्सवमा जलपरीको दृश्य अवलोकनका लागी दर्शकको निकै भिड लागेको छ । चलचित्र तथा विभिन्न भिडियोमा देखिने जलपरीको दृष्य प्रत्यक्ष हेर्न पाउँदा दर्शक निकै खुसी भएका छन् । ४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक स्टलहरु रहेका छन् । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।