समाचार
आज वालिङ महोत्सवमा कन्दरा ब्याण्डको सांगीतिक धमाका हुने
रेडियो आँधीखोला
वालिङ, २१ मघ ।
स्याङ्जाको वालिङमा जारी ‘नवौं वालिङ महोत्सवमा आज माघ २१ गते विशेष सांगीतिक प्रस्तुति हुने भएको छ । माघ १४ गतेदेखि सुरु भई २५ गतेसम्म सञ्चालन हुने यस महोत्सवको आठौं दिनलाई विशेष बनाउन आयोजकले लोकदोहोरी तथा लोक पप विधाका चर्चित कलाकारहरूलाई मञ्च प्रदान गर्दैछ ।
महोत्सवको आज आठौं दिन लोक दोहोरी क्षेत्रका अत्यन्तै लोकप्रिय गायक पशुपति शर्मा मुख्य आकर्षणको रूपमा रहनुभएको छ भने शर्मासँगै लोकदोहोरी गायिकाहरू शिला गुरुङ र ममता तामाङ तथा गायकहरू देवराज गैरे र सुभास गुरुङले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन दिनुहुनेछ । लोक विधासँगै लोक पप विधाका पारखीहरूका लागि चर्चित सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’को विशेष कन्सर्ट समेत रहने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक पिताम्बर खनाल ’सुशीलले जानकारी दिनुभयो । सांगीतिक प्रस्तुति मात्र नभई नृत्य विधामा मोडल तथा डान्सर अस्मिता रनपालको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। । त्यस्तै सुगम संगितका हेमन्त शर्मा र लोक विधाका कुमार पुनको प्रस्तुतिले मंगलबार दर्शकलाई निकै मनोरञ्जान प्रदान गरेको थियो । महोत्सवमा नयाँ देखिएको जलपरीमा दर्शकको निकै आर्कषण बढेको छ भने परम्परागत घुमाउरो घरमा समेत दर्शकहरु आर्कषित भएका छन् ।
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका छन् ।