समाचार
चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने
माघ २२, रााजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतसमक्ष अनुमति लिनुपर्ने भएको छ ।
निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी वा चारवटा घोडा प्रयोग गर्न सक्नेछन् ।
पालिकामा, महानगर र उपमहानगरका मेयर वा उपमेयर दुईवटा, नगरपालिका वा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष एउटा र वडा तहका उम्मेदवारले एउटा गाडी प्रयोग गर्न पाउनेछन् । गाडी सञ्चालन नहुने ठाउँमा घोडा प्रयोग गर्न सकिने व्यवस्था पनि छ । प्रचारप्रसारका लागि मौन अवधिमा गाडीको प्रयोग गर्न पाईनेछैन ।
अनुमति बिना गाडि प्रयोग गरेमा वा मौन अवधिमा प्रयोग भएमा ती गाडी नियन्त्रणमा लिएर चुनावपछि मात्रै फिर्ता गरिनेछ । मतदानको दिन अनुमति प्राप्त गाडीबाहेक अरु गाडी चलाउन नपाइने भएको छ ।
उम्मेदवार, सुरक्षाकर्मी, अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक र आयोगले तोकेका अन्य निकायलाई भने विशेष अनुमति दिइनेछ । एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा लगायत आकस्मिक सेवाका गाडीले भने अनुमति लिनु पर्नेछैन ।