अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्याङ्जामा डढेलो लगाएको आशंकामा एक महिला र अवैध मासुसहित चालक पक्राउ

 
रेडियो आँधीखोला
वालिङ, २७ माघ । 
स्याङ्जाको पुतलीबजार नगरपालिकामा डढेलो लगाएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ भने अर्को एक छुट्टै घटनामा ठूलो परिमाणको अवैध कुखुराको मासुसहित चालकलाई पक्राउ गरेको छ।
गत माघ २६ गते दिउँसो करिब १ः०० बजे पुतलीबजार नगरपालिका वडा नं. ८ स्थित थाम्काभिरको खरबारीमा भीषण आगलागी भएको थियो। आगलागीको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले साँझ ५ः३० बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको थियो। सोही डढेलो लगाएको आशंकामा प्रहरीले पुतलीबजार–८ बस्ने ४५ वर्षीया जमुना कुवरलाई अरौदीबाट नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, सोही दिन दिउँसो ३ः०० बजे जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त चेकिङ टोलीले पुतलीबजार–१ बसपार्कमा अवैध कुखुराको मासु बरामद गरेको छ। वालिङबाट पोखरातर्फ जाँदै गरेको ग २ च १६७८ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा स्वास्थ्य मापदण्ड विपरित ’कुल बक्स’ मा नराखी र आवश्यक कागजात बिना ओसारपसार भइरहेको करिब ४९५ केजी (१८० पिस) मासु फेला परेको थियो।
प्रहरीले सवारी चालक वालिङ नगरपालिका–९ बस्ने २१ वर्षीय सन्दिप सार्की र सवारी साधनलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको मासु र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
यसैबीच बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि फरार रहँदै आएकी स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ३ (साविक मल्याङ्कोट गाविस ३) की २९ वर्षीया सुनिता गुरुङ पक्राउ परेकी हुन्।
 
वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले खोजतलास गर्ने क्रममा उनलाई माघ २६ गते वालिङ नगरपालिका वडा नम्बर १ रामबाच्छाबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकी गुरुङलाई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसारमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको छ । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयस्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार १ घुम्तिबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ग १ त ४४७७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी पुतलीबजार नगरपालिकाको कार्यालय,पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...