समाचार
नेतृत्व विकासमा जोड दिँदै वालिङमा महिला सशक्तिकरण कार्यक्रम
वालिङ, २९ माघ ।
स्याङ्जाको वालिङ नगरपालिका–४ स्थित हिमाली माध्यमिक विद्यालयमा महिला सशक्तिकरणसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। रोट्र्याक्ट क्लब अफ वालिङको आयोजना तथा वडा नं. ४ को सहकार्यमा आयोजित कार्यक्रममा दुई विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत करिब ५० जना छात्राहरू सहभागी भएका थिए। कार्यक्रममा वडा अध्यक्ष हरि प्रसाद खनालले महिलाको सशक्त भूमिका बिना दिगो विकास सम्भव नरहेको धारणा राख्दै किशोरीहरूलाई नेतृत्व र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो ।
रोट्र्याक्ट क्लब अफ वालिङका अध्यक्ष आयुष्मा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा अधिकृत गीता पाठक, रोटरी क्लबका पूर्व अध्यक्ष युबराज पाठक, पूर्व सचिव तथा सामाजिक अभियान्ता जैसरा रेग्मी र विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगाना विशिष्ट उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सफल लुइटेलले गर्नुभएको थियो भने सञ्चालन बिना रेग्मीले गर्नुभएको थियो ।