अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

मतको मूल्य जोगाऔँ, सही तरिकाले भोट हाल्न सिकौँ

news

 

फागुन २, २०८२ हरेक पटक चुनाव आउँदा हामी भन्छौं, ‘यसपटक देश बदलिन्छ ।’ यसअघिको चुनावमा खसालेको मतले देश कति बदलियो भन्ने हरहिसाब सबैका आआफ्नै हुन सक्छन् । तर मत बदर हुने संख्या भने एउटै छ ।

निर्वाचन आयोगको तथ्याँकअनुसार २०७० सालमा ४.९६ प्रतिशत मत बदर भयो । अनि २०७४ सालको चुनावमा ५.१६ प्रतिशत र २०७९ मा ५.१९ प्रतिशत । अर्थात् हरेक सय मतमध्ये करिब पाँच मत बदर हुने गरेको छ । यो केवल संख्या होइन, लोकतन्त्रका लागि क्षति हो ।

किन बदर हुन्छ मत ? कारण धेरै जटिल छैनन् । कहिलेकाहीँ छाप सही चिह्नमा पर्दैन । कहिले दुई ठाउँमा पर्छ । कहिले मतपत्र लतरपतर हुन्छ । गाउँठाउँमा मात्रै नभएर काठमाण्डौ लगायतका शहरी क्षेत्रमा पनि उल्लेखनीय रुपमा मत बदर हुने गरेको देखिन्छ ।

निर्वाचन आयोगले हरेक चुनावमा जस्तै यसपटक पनि बदर मत घटाउन अभियान सञ्चालन गर्दैछ । घरदैलो कार्यक्रम हुँदैछ । हरेक वडामा स्वयंसेवक पुग्दैछन् । विद्यालयमार्फत् विद्यार्थीलाई सिकाएर घरसम्म सन्देश पुर्याउने तयारी छ ।

सामाजिक सञ्जालमार्फत् डिजिटल सामग्री पनि पुग्दैछ । अभियानमा छाप कसरी लगाउने, मतपत्र कसरी समात्ने, के गर्दा मत बदर हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी दिने आयोगको तयारी छ ।

तर बुझ्नैपर्ने कुरा के हो भने निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा कार्यक्रमले मात्र बदर मत घटाउन सक्दैन । सही छाप लगाउने जिम्मा मतदाताकै हो भने नजानेकालाई सिकाउने कर्तव्य नागरिकको पनि हो ।

बदर नहुने गरी मत खसाल्ने तरिका अहिलेदेखि नै सिक्न जरुरी छ । मतदानको दिन मात्रै सिक्न खोज्दा ढिलो भइसक्छ । मतदान केन्द्रभित्र कसैले सिकाउन पाउँदैन । 

त्यसैले अहिलेदेखि नै बुझौँ—छाप आफूले रोजेको एउटै चिह्नमा, घेराभित्र लगाउनुपर्छ । दुई ठाउँमा लगाउन हुँदैन । मतपत्र च्यात्न र कोर्न हुँदैन । मसी नलतपतिने गरी पट्याएर मतपेटिकामा खसाउनुपर्छ । यति मात्रै ध्यान राखे पनि धेरै मत जोगिन्छ । 

घरमा बुबाआमा, हजुरबा–हजुरआमा हुनुहुन्छ भने मतदान गर्ने सही तरिका सम्झाइदिनु हाम्रो जिम्मेवारी हो । पहिलोपटक भोट हाल्ने तयारीमा रहेका युवालाई प्रक्रिया बुझाउनु हाम्रो जिम्मेवारी हो । टोल–समाजमा मतदानबारे छलफल चलाउनु पनि हाम्रो जिम्मेवारी हो ।

जान्नेले नजान्नेलाई सिकाउनु नागरिक कर्तव्य हो । नजान्नेले पनि सिक्न लाज मान्नु हुँदैन—यो अधिकार जोगाउने अभ्यास हो ।

मतदान कुनै परीक्षा होइन, तर सानो गल्तीले पाँच वर्षको परिणाम बदल्न सक्छ ।

मत बिग्रियो भने आवाज बिग्रिन्छ । आवाज बिग्रियो भने निर्णय अरूको हातमा पुग्छ । मतपत्र कागज होइन, हाम्रो भविष्य हो । यो छाप होइन, हाम्रो विश्वास हो । मत बदर हुन नदिनु भनेको लोकतन्त्रलाई कमजोर हुन नदिनु हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...