समाचार
अर्जुनचौपारी गाउँपालिकाद्वारा भजनगीत प्रतियोगिता सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ५ फागुन ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रथम स्याङ्जा अन्तरविद्यालय भजनगीत प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाले महाशिवरात्रीका अवसरमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजनगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा विभिन्न विद्यालयका १३ समूहले सहभागिता जनाएका थिए ।
प्रथम स्याङ्जा अन्तरविद्यालय भजनगीत प्रतियोगितामा रामनदिधाम संस्कृत गुरुकुलमको समूहले प्रथम स्थान हासिल गरेको छ । गुरुकुलमले नगद रु.२५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी आयोजक गाउँपालिका २ नम्वर वडाको अमरज्योति मावि दोस्रो र अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेलाई नगद रु.१५ र १० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
पुरस्कार वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले भजनगीत प्रतियोगिताको माध्यमबाट जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीका बीच परिचित हुने अवसर मिलेको बताउनुभयो । उपाध्यक्ष गुरुङले गाउँपालिकाले आयोजना गरेको पहिलो कार्यक्रममा विभिन्न पालिकाका गरी १३ विद्यालयले सहभागिता जनाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाको १ नम्वर वडास्थित केटीचौरमा रहेको नवग्रह मन्दिर परिसरमा महाशिवरात्रीको अवसरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजनगीत प्रतियोगिता सञ्चालन गरिएको थियो । गतवर्ष फागुन ६ देखि १४ गतेसम्म महाशिवरात्रीको अवसर पारेर विधिवत समुद्घाटन भएको नेपालकै पहिलो नवग्रह मन्दिर हो । मन्दिर समुद्घाटन भएपछि जिल्लाकै महत्वपूर्ण आध्यात्मिक केन्द्रकोरुपमा विकसित भएको छ । यहाँ विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आउनेक्रम बढिरहेको छ ।
यसैगरी गाउँपालिकाले विगत ३ वर्षदेखि पालिकाका सबै विद्यालयहरुमा संस्कार शिक्षा सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरुलाई कक्षा ६ देखि संस्कार शिक्षा दिन थालिएको हो । पालिकामा रहेका ७ वटै माध्यमिक विद्यालयमा संस्कार शिक्षा प्रदान गरिएको छ । अहिले आयोजना गरिएको अन्तरविद्यालय भजनगीत प्रतियोगिताले एक अर्काबीच सम्वन्ध विस्तार हुनुकासाथै संस्कार शिक्षामा पनि टेवापुग्ने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।