समाचार
भुरुङचौकी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हिरक महोत्सव शुरु
वालिङ, ८ फागुन ।
भुरुङचौकी माध्यमिक विद्यालय विरुवा ८ स्याङ्जाको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव विहिबारदेखि शुरु भएको छ । वार्शिकोत्सव तथा हीरक महोत्सवको उद्दघाटन गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा प्रजातन्त्र स्थापना भएको एकवर्षपछि स्थापना भएको भुरुङ चौकी मावि प्रजातन्त्रको दियो भएको बताउनुभयो । प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनापछि धेरै परिर्वतन नागरिक समाजमा आएपनि पछिल्लो समय व्यवस्थामाथि भ्रम सृजना गर्न खोजिएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयमा सुधार आउन सकेन भनेर निराश हुन आवश्यक नरहेको भन्दै व्यवस्थापकीय पक्षलाई बलियो बनाउन सकियो भने हरेक बालबालिकाहरुले फरक फरक प्रतिभा लिएर आएकाले उनीहरुको प्रतिभाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
देश, माटो, प्रकृति र संस्कारहरु हाम्रा बालबालिकाहरुलाई चिनाउन आवश्यक रहेको भन्दै सामाजिक सञ्जालको सहि सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । विज्ञान प्रविधिको प्रयोग मानव नरसंहारका लागि नभई मानव जिवनको लागी हो भन्ने सिक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सिप र क्षमता भएका बालबालिकाहरुलाई वातावरण सृजना गर्न आवश्यक छ । यसका लागी अभिभावक र शिक्षकको महत्वपुर्ण हात छ ।” विद्यार्थीलाई श्रमसंग जोड्न आवश्यक रहेको भन्दै पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले हरेक विद्यालयमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपाक खड्कबहादुुर गुरुङले विद्यालयका वार्शिक कार्यक्रम तथा भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो । प्रजातन्त्रको उदयसंगै २००८ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म र प्राविधिक धारतर्फ प्रि डिप्लोमा तह सिभिल इन्जिनियरिङका कक्षाहरु संचालनमा छ ।