समाचार
उम्मेदवारहरु घरदैलो तथा मतदाता घेटघाटमै व्यस्त
रेडियो आँधीखोला
वालिङ, १२ फागुन ।
निर्वाचन मिति नजिकिँदै गर्दा स्याङ्जामा चुनावी माहोल बढेको छ । विषेश गरी बजारी क्षेत्रमा नागरिकहरुले आगामी निर्वाचनकै विषयमा चर्चा गर्छन् । उम्मेदवारहरु भने मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममै व्यस्त देखिन्छन् । स्याङ्जाको दुई निर्वाचन क्षेत्र रहेको यहाँ विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
निर्वाचन मिति फाल्गुन २१ नजिकिँदै गर्दा यहाँका नेकपा एमाले, नेपाली कांगे्रस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राप्रपालगायतका दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् भने अन्य दलहरु र स्वतन्त्र उम्मेदवाहरु समेत आफ्नो एजेण्डा लिएर मतदाताका घरघरमा पुगेका छन् ।
नेपाली कांगे्रसका उम्मेदवार भावगतप्रकाश मल्ल र समानुपातिक उम्मेदवार माया रानाको टोलीले सोमबार कालीगण्डकी गाउँपालिकाका विभिन्न स्थानहरुमा घरदैलो तथा चुनावी कार्यक्रम गरेका छन् । उम्मेदवार मल्लको टोलीले कालीगण्डकी, १, २, ३ र ४ नम्बर वडाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रम गरेको हो । कार्यक्रममा उम्मेदवार मल्लले आँफू आश्वासन भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको भन्दै अहिले नागरिकका समस्या र गुनासा सुन्दै आएको बताउनुभयो ।
निर्वाचनको परिणाम जेजस्तो भएपनि नागरिकहरुको माँझमा चुनाव पछि पनि पुग्ने भन्दै आफ्ना अमुल्य मत दिन मतदाताहरुलाई आग्रह गर्नुभयो । यता रास्वपाका उम्मेदवार झविलाल डुम्रे, वातावरण विज्ञ सागर ढकालसहितको टोलीले चापाकोटका विभिन्न स्थानहरुमा घरदैलो तथा मतदाता भेटघाट गरेको छ । उम्मेदवार डुम्रले जेन्जी आन्दोलनमा घाईते भएका एक युवकसंग समेत संवाद गर्नुभएको थियो ।
यसैबीच उता नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापाले गल्याङ्का विभिन्न स्थानहरुमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । उम्मेदवार थापाले विकास निर्माणलगायत नागरिकको सेवामा लागी आँफू साझा व्यक्ति भएर काम गरेको बताउँदै आगामि दिनमा पनि आम नागरिकको साझा सेवकको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । इमानको राजनिति तथा सामाजिक काम गरेको बताउँदै समग्र स्याङ्जाको विकास निर्माणसंगै मानविय संसाधनको विकासका लागी काम गर्ने बताउनुभयो ।
यसैबीच यता राप्रपा क्षेत्र नं. २ का उम्मेदवार रविन पाठकसहितको टोलीले कालिगण्डकीको मिर्मि बजारमा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा राप्रपा क्षेत्रिय सचिव पुष्पकमल रेग्मी, समानुपातिक उम्मेदवार देवकुमारी पराजुली, पार्टीका कालीगण्डकी अध्यक्ष विष्णुप्रसाद भटराई, पार्टीका वालिङ नगर सचिव प्रकाश डुम्रेलगायतको सहभागिता रहेको थियो । उम्मेदवार पाठकले यसपटक राप्रपालाई आफ्नो अभिमत व्यक्त गर्न आग्रह गर्दै यहाँका समस्या र भौतिक विकासमा आफ्नो विषेश पहल रहने बताउनुभयो ।