समाचार
स्याङ्जामा राष्ट्रिय मगर एकता दिवसका अवसरमा ५ पालिकाले दिए विदा
रेडियो आँधीखोला
वालिङ, १४ फागुन ।
४४ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा स्याङ्जका ५ पालिकाले सार्वजानिक विदा दिएका छन् । ११ पालिका रहेको जिल्लामा बुधबारसम्म यहाँको वालिङ, भीरकोट, पुतलीबजार नगरपालिका, कालीग्ण्डकी गाउँपालिका र विरुवा गाउँपालिका गरी ५ पालिकाले सार्वजानिक विदा दिएका हुन् । हरेक फाल्गुन १५ गते मगर संघसंगठनहरुले राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएका छन् । दिवसमा विषेश गरी यहाँ गठित मगर संघहरुले मगर भेषभूषा र ¥याली सहित विविध कार्यक्रम गरि मनाउँदै आएका छन् ।
गुल्मी जिल्लाको भार्से गाउँमा २०१२ साल फागुनमा क्याप्टेन पूर्णबहादुर घर्ती मगरको नेतृत्वमा मगर समाज सुधार संघको गठन भएको पाइन्छ । त्यसको २६ वर्षपछि बुटवलमा २०३८ साल माघमा नेपाल लाङ्घाली परिवार संघ केन्द्रीय तदर्थ समिति गठन भयो । २०३९ साल फागुन १५ र १६ गते तनहुँमा संघको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।
संघको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवसको रुपमा मगर समुदायले मनाउँदै आएका छन् । लाङ्घाली परिवार संघबाट नाम परिवर्तन भई नेपाल मगर संघ बनेको २०४८ साल माघ १० र ११ गते काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनबाट हो ।