समाचार
निर्वाचन मिति नजिकिदै, उम्मेदवारहरु घरदैलोमा व्यस्त
रेडियो आँधीखोला
वालिङ, १६ फागुन ।
निर्वाचन मिति नजिकिँदै गर्दा स्याङ्जामा चुनावी माहौल बढ्दै गएको छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् भने मतदाता शिक्षाका लागी गाउँगाउँमा मतदाता शिक्षाको टोली पुगेका छन् । निर्वाचन मिति आउनँ ५ दिन मात्रै बाँकी रहँदा विभिन्न पार्टीका उम्मेदवाहरु घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापाको टोलीले गल्याङ ९ को विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त प्रचारप्रसारको टोलीमा निर्वाचन समिति संयोजक मोहन रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, पुर्व सांसद महेन्द्र थापा, गल्याङ नगरपालिका निर्वतमान नगरप्रमुख भुपराज अधिकारीलगायतले सहभागिता रहेको छ ।
कार्यक्रममा उम्मेदवार थापाले नागरिकहरुलाई उद्यमशीलतातर्फ प्रेरित हुने खालका निति निर्माण गर्दै आफ्नै थलोमा बस्ने वातावरण सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पारदर्शीता र इमान्दारीताको राजनिति गर्दै आगाडि बढेको भन्दै आम मतदाताहरुको शिर उच्च हुने खालको काम गर्ने उम्मेदवार थापाको प्रतिवद्धता छ ।
नेपाली कांगे्रस क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्लले शुक्रबार वालिङ ११, १३ र १४ का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ । उम्मेदवार मल्लसहित नेपाली कांगे्रस कार्यबहाक सभापति केदार काफ्ले, महाधिवेसन प्रतिनिधि विष्णु पौडेलसहितको टोलीले शुक्रबार ३ वडाका विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट गरेको हो । कार्यक्रममा उम्मेदवार मल्लले स्याङ्जाको हरेक भुगोल आँफूले चिनेको भन्दै यहाँको आवश्यता र नागरिकको मागका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय नागरिकले प्रतिफल चाहेको भन्दै भाषण भन्दा काममा विश्वास गर्ने पात्रको रुपमा आँफू रहेकाले आफ्नो पक्षमा अभिमत प्रदान गर्न उम्मेदवार मल्लले मतदाताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै रास्वपाका उम्मेदवार झविलाल डुम्रेले गल्याङका १, ३ र ८ का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ । ग्रामिण विकासको क्षेत्रमा १६ वर्षको अनुभव सहति आईटी क्षेत्रका डुम्रेले अब बोल्ने र आश्वासन दिने समय सकिएको भन्दै मात्रै कामले विश्वास र मन जित्ने समय आएको बताउनुभएको छ । उहाँको आधिकारिक वेभसाईट समेत सार्वजानिक गरिएको उहाँको सचिवालयले जनाएको छ । झविलाल डुम्रे डट कम लगईन गरेर उहाँका बारेमा अध्ययन गर्न सकिन्छ भने उहाँले वाचा गर्नुभएको विषयवस्तु र अन्य निर्वाचनका गतिविधिलाई वेभसाईटमा राखिएको छ ।
यसैबीच यता राप्रपाका उम्मेदवार रविन पाठकको टोलीले भीरकोट ७, ८ का विभिन्न स्थानहरुमा नगर घरदैलो तथा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा समानुपातिक उम्मेदवार तोरणबहादुर गुरुङ, पुष्पकमल रेग्मी, हर्खबहादुर रोकालगायतको टोलीले ति दुई वडाका विभिन्न ठाउँहरुमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उम्मेदवार पाठकले राप्रपा देशको स्वाधिनता र हिन्दु राष्ट्र सुनिश्चितको लागि राप्रपाका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । स्याङ्जाको विकासमा थप स्तारोन्नति गर्दै समृद्ध स्याङ्जाको परिकल्पना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार पाठकले बताउनुभयो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार पदमबहादुर विश्वकर्मासहितको टोलीले चापाकोट ७, ८, ९, १० नम्बर वडाका विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रम टोलीमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय मेघनाथ चापागाई, तारा भुषाल, सिताराम गैह्रे, हरि भटराई,रुकविर विक, देवेन्द्र रसाईली, अनु कुँवर, तेज सुवेदीलगातको सहभागिता रहेको छ । कार्यक्रममा उम्मेदवार विश्वकर्माले स्याङ्जाको विकासका लागि आफ्नो उम्मेदवारी भएको भन्दै यो अभियानमा आफ्नो अमुल्य मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।