समाचार
स्याङ्जामा मतगणनास्थल तयार
रेडियो आँधीखोला
वालिङ, २० फागुन ।
स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि दुई वटै निर्वाचन क्षेत्रमा तारजाली लगाएर स्थल तयार पारिएको हो । स्याङ्जा क्षेत्र नं.१ को मतगणनाको लागि जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नं. २ को वालिङ नगरपालिकाको सभाहलमा मतगणनास्थल तयार पारिएको छ ।
मतगणनास्थलमा तारजाली लगाउने र आवश्यक अन्य तयारीको काम पूरा भएको स्याङ्जाका मूख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । मतगणना स्थलमा रहेका सिसी टिभीको अवस्था, उम्मेदवार र प्रतिनिधि बस्ने ठाउँ आदिको तयारी गरिएको गौतमले बताउनुभयो ।
वालिङ नगरपालिकामा दुई वटा मतगणनास्थल तयार पारिएको छ । तारजाली भित्र कर्मचारीहरुले मतगणना गरेको स्पष्ट देख्ने गरी व्यवस्था मिलाइएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । निर्वाचन पश्चात आउने मतपेटिका राख्ने ठाउँलाई सरक्षित बनाइएसँगै मत गणनास्थल निर्माण गरिएको उहाँको भनाइ छ ।
गल्याङ र चापाकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाको पूरै वडा तथा वालिङ नगरपालिकाको ३ र ४ बाहेक सबै वडा तथा भीरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ गरी पाँच वटा वडा क्षेत्र नं.२ मा पर्दछन् । बाँकी हरिनास, विरुवा, फेदिखोला, आँधीखोला, अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका, वालिङका ३ र ४ नम्बर वडा तथा भीरकोटका १ देखि ४ नम्बर वडा क्षेत्र नं. १ मा पर्दछन् । यहाँ १९९ मतदानस्थल र ३२२ म्तदान केन्द्र रहेका छन् ।