समाचार
हाँजिरीजवाफ प्रतियोगिता वालिङमा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २९ फागुन ।
स्याङ्जाको वालिङमा प्रथम जिल्ला स्तरीय अन्तर मावि गणितीय हाँजिरीजवाफ प्रतियोगिता गरिएको छ । गणित शिक्षा परिषद स्याङ्जाको आयोजनामा प्रदेश स्तरीय प्रतियोगिताका लागि आज वालिङ–१० फूलवारी स्थित पूर्णामृत भवानी माविमा प्रथम जिल्ला स्तरीय अन्तर मावि गणितीय हाँजिरीजवाफ प्रतियोगिता–२०८२ सम्पन्न गरिएको हो ।
प्रतियोगितामा त्रिभुवन आदर्श मावि पुतलीबजारले प्रथम स्थान हासिल गरेको छ । यसैगरी चिराग आवासीय मावि गल्याङ दोस्रो स्थान प्राप्त गरेको छ भने अर्मादी आवासीय मावि वालिङ तेस्रो र सितला मावि पुतलीबजार सान्त्वना भएको छ ।
हिजोको प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयका विद्यार्थीले शनिवार पोखरामा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
छनोट प्रतिष्पर्धामा जिल्लाका १२ विद्यालयका १८ टीमले सहभागिता जनाएका थिए । कार्यक्रमको सहजिकरण शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जा र गणित शिक्षा परिषद गण्डकीले गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख विश्वराज आचार्यले गणित दैनिक जीवनका हरेक समस्यामा प्रयोग हुने विषय भएको भन्दै विद्यार्थीहरुलाई गणित विषय व्यवहारमा सम्बन्धीत गराएर अध्ययन गर्न सुझाव दिनुभयो । कार्यक्रममा गणित शिक्षा परिषदका केन्द्रिय समिति पुर्व सदस्य राजेश शर्मा र पुर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लम्साललगायतले बोल्नुभएको थियो ।
गणित शिक्षा परिषद राष्ट्रिय समितिको वार्षिक कार्यक्रम अनुसार पालिका स्तर पछि जिल्ला स्तरीय प्रतिष्पर्धा गराइएको कार्यक्रमका अध्यक्ष एवम् गणित शिक्षा परिषदका पूर्व केन्द्रीय सदस्य ऋषिराम शर्माले जानकारी गराउनुभयो । यसैगरी प्रदेश पछि राष्ट्रियस्तरको प्रतियोगिता हुने नेपाल राष्ट्र माविका राजेश शर्माले बताउनुभयो । कार्यक्रमको प्रायोजन विटी पव्लिकेशन एवम् पठशाला प्रकाशन काठमाडौंले गरेको थियो ।
गणित शिक्षा परिषद स्याङ्जाका अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत परिषदका उपाध्यक्ष हरिप्रसाद पंगेनी र संचालन परिषदका सचिव विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो ।