समाचार
फेदीखोला–२ घैयाबारीमा प्रजनन स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न, ४० जनाको स्वास्थ्य परीक्षण
वालिङ, ३ चैत ।
स्याङ्जाको फेदीखोलामा भएको प्रजनन स्वास्थ्य शिविरमा ४० जना महिलाहरु लाभान्वित भएका छन् । गाउँपालिकाले स्थानीय स्तरमै प्रजनन् स्वास्थ्य परिक्षणको आयोजना गरी महिला स्वस्थ्यलाई विषेश प्राथामिकतामा राखेको जनाएको छ । फेदिखोला २ मा गरिएको प्रजनन स्वास्थ्य सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा महिलाहरुको पाठेघरको स्क्रिनिङ, भिडियो एक्सरे गरिएको थियो ।
परीक्षण गरिएका मध्ये १ जनामा भिआइए पोजेटिभ देखिएकाले स्वास्थ्य कर्मीले आवश्यक सल्लाह दिएर थप उपचारको लागि सल्लाह दिएका छन् । त्यस्तै १ जना महिलाको पाठेघरमा मासु पलाएको पोलिप भेटिएको थियो भने १ जनामा टच ब्लीडिङ देखिएकाले थप उपचारका लागि गण्डकी अस्पताल रेफर गरिएको छ । शिविरका क्रममा २ जनामा सेकेन्ड डिग्री युटेराइन प्रोल्याप्स देखिएकोले उनीहरूलाई २.५ एमएमको रिङ पेसरी राखेर उपचार गरिएको थियो ।
स्वास्थ्य परीक्षणसँगै सहभागीलाई स्तन क्यान्सर सम्बन्धी जनचेतना, घरमै स्तन परीक्षण गर्ने तरिका, पाठेघरको स्वास्थ्य जोगाउने उपायहरू तथा किगल व्यायामको महत्व र यो व्यायाम गर्ने विधि बारे पनि परामर्श दिईएको थियो । गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरी यस्ता स्वास्थ्य शिविरले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ ।