समाचार
वालिङबाट मात्रै ७५२ विद्यार्थी एईईमा सहभागि हुँदै
रेडियो आँधीखोला
वालिङ, ५ चैत ।
स्याङ्जाको वालिङ नगरपालिकाबाट मात्रै ७५२ विद्यार्थी एसईई परिक्षमा सहभागि हुँदैछन् । यहाँका सामुदायिक र संस्थागत गरी ७५२ परिक्षार्थीले एसईई दिँदैछन् । यहाँ सामुदायिकतर्फ २३० छात्रा र १९२ छात्र गरी ४२२, संस्थागततर्फ १४२ छात्रा र १८३ छात्र गरी ३३० जना परिक्षार्थीले एसईई दिँदैछन् । एसईई दिने परिशार्थीमा सामुदायिक विद्यालयका धेरै छन् । सामुदायिक विद्यालयमा छात्रा धेरै परिशार्थी रहँदा संस्थागततर्फ छात्रको संख्या धेरै देखिएको छ । वालिङमा १६ सामुदायिक र १२ संस्थागत गरी कुल २८ माध्यमिक विद्यालयका परिक्षार्थीले एसईईमा सहभागि हुँदैछन् ।
यसैबीच यता पुर्णामृत भवानी माध्यमिक विद्यालयबाट ८२ जना विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन् भने खुल्ला विद्यालय तर्फ ६ जना विद्यार्थीले एसईई दिँदैछन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका साथै एसईईको नजिता राम्रो ल्याउन वालिङका विभिन्न विद्यालयहरुले विद्यालयभित्रै अतिरिक्त कक्षाको व्यवस्था गरी परिक्षाको तयारी गरेका छन् । पुर्णामृत भवानी माविमा ५२ जना विद्यार्थीहरुलाई विद्यालयमै राखेर अध्ययन गराईएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताउनुभयो । मंसिर देखि नै ५२ जना विद्यार्थीहरुले विद्यालयमै आवसिय सुविधामा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यही चैत्र १९ गतेबाट शुरु हुने एसइई परिक्षाका लागि सामुदायिक विद्यालयले विहान र बेलुका समेत अतिरिक्त कक्षा संचालन गरिरहेका छन् भने संस्थागत विद्यालयहरुले समेत अतिरिक्त कक्षा संचालन गरिरहेका छन् ।
यसवर्षको परिक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ ।