समाचार
भीरकोटमा ‘मेयरसँग ज्येष्ठ नागरिक’ स्वास्थ्य शिविर सम्पन्न
रेडियो आँधीखोला,
वालिङ ७ चैत्र ।
स्याङ्जाको भीरकोट नगरपालिकामा ‘मेयरसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तर्गत एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगरपालिकाको वडा नं. २ स्थित केगाटोलमा शुक्रबार आयोजना गरिएको उक्त शिविरमा स्थानीय ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा ५४ जना ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। सो अवसरमा विशेषगरी वृद्धवृद्धामा देखिने साझा स्वास्थ्य समस्याहरू जस्तै– उच्च रक्तचाप (प्रेसर), मधुमेह (सुगर), दम तथा हाडजोर्नी सम्बन्धी रोगहरूको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परीक्षण तथा उपचार गरिएको थियो। स्वास्थ्य जाँचका साथै बिरामीहरूलाई आवश्यक औषधि र उचित स्वास्थ्य परामर्श समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले ज्येष्ठ नागरिकहरू समाजका अनुभवका खानी र अमूल्य सम्पत्ति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र संरक्षण गर्नु नगरपालिकाको पहिलो प्राथमिकता हो। कोही पनि ज्येष्ठ नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो।”
नगर प्रमुखले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य बीमा पूर्ण रूपमा निःशुल्क हुने जानकारी दिँदै कुनै पनि स्वास्थ्य समस्या पर्दा तत्काल भीरकोट नगर अस्पतालमा गई सेवा लिन समेत अनुरोध गर्नुभयो। गाउँघरमै स्वास्थ्यकर्मी र नगर प्रमुखलाई भेट्न पाउँदा स्थानीय ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन्।