समाचार
बयरघारीमा निशुल्क स्वास्थ्य शिविरबाट करिब ५०० जना लाभान्वित्
रेडियो आँधीखोला,
वालिङ ८ चैत्र ।
भीरकोट नगर अस्पतालमा शनिबार संचालन एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय सेवाग्राही लाभान्वित भएका छन्। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३४२ महिला र १५३ पुरुष गरी ४ सय ९५ सेवाग्राही लाभान्वित भएको मनमोहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिनुभयो ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिविरबाट स्थानीय नागरिकहरूलाई पोखरा काठमाडौंका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्राप्त भएको बताउनुभयो । स्वास्थ्य शिविरका लागि पहल गर्ने डा. सैयद र सेवा प्रदान गर्ने विशेषज्ञ डाक्टरहरूलाई धन्यवाद व्यक्त गर्दै उनले नगरपालिकाले आगामी वर्ष पनि स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख कर्माचार्यले बताउनुभयो । स्वास्थ्य शिविरबाट अर्जुनचौपारी, भीरकोट र पुतलीबजारका नागरिकहरू लाभान्वित भएका हुन्।