समाचार
वालिङमा समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सुरु ।
रेडियो आँधीखोला
वालिङ, ९चैत ।
वालिङमा समुदाय विपद स्वयंसेवक तालिम शुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म, हे.क्वा. स्याङ्जाद्वारा वालिङ नगरपालिकासँगको समन्वय तथा सहकार्यमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु गरिएको हो । तालिम चैत्र २९ गतेसम्म सञ्चालन हुने छ । तालिमको मुख्य उद्देश्य समुदायस्तरमै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति तयार पार्नु, आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनु रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा वालिङ नगरपालिका उप–प्रमुख कविता गैरेले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभया । ंवालिङ नगरपालिकामा दुई वटा रास्ट्रसेवक संस्था शसस्त्र प्रहरी बल र वडा प्रहरी कार्यालय रहेको भन्दै यसले सामाजमा अहोरात्र खटेर कार्य सम्पादन गरेको भन्दै प्रशंसा गर्नुभयो । पहाडले घेरिएको क्षेत्र हुँदा विगतमा पनि विपद् बाट भौतिक क्षति भएको र वर्षेनी मानविय क्षति पनि हुन गरेको अवस्थामा विपत आउनुभन्दा अगाडिनै आफ्नै गाँउमा विपत व्यवस्थापन गर्न सहज हुने उद्दश्ले यो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल नं. ३० गुल्मका शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमिल्सेनाले विपद् व्यवस्थापन एकल संस्थाबाट सम्भव नभई बहुआयामिक समन्वय, सहकार्य र स्थानीय सहभागितामा आधारित हुनुपर्ने र संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीच समन्वय गरी मात्र प्रभावकारी र दिगो विपद् व्यवस्थापन सम्भव हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा न ११ का वडा अध्यक्ष डण्डपानि पंगेनीले विपद समस्या सबैको साझा सम्स्या भएकोले यसलाइ न्युनिकरण गर्नको लागि सामुहिक पहल गर्नुपर्ने धारण राख्नुभयो । तालिममा सहभागी स्वयंसेवकहरूलाई बाढी, पहिरो, आगलागी लगायतका विपद्का समयमा आवश्यक पर्ने उद्धार, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ । सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूको सहभागितामा सञ्चालन भइरहेको उक्त कार्यक्रमले समुदायमा सचेतना वृद्धि गर्नुका साथै विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ । तालिममा वालिङका २५ जना युवाहरुको सहभागिता रहेको छ ।