समाचार
स्याङ्जामा २४ जना उम्मेदवार मध्ये १० जनाले बुझाए चुनावको आम्दानी, खर्च विवरण
रेडियो आँधीखोला
वालिङ, ९चैत ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा उम्मेदवार बनेका स्याङ्जाका २४ जना उम्मेदवार मध्ये १० जनाले मात्रै चुनावी आम्दानी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत श्रीराम थापाका अनुसार आईतबार सम्म १० जना उम्मेदवारले निर्वाचनको आम्दानी खर्च विवरण बुझाएका हुन् ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ १२÷१२ जना गरी २४ उम्मेदवार थिए । ति मध्ये क्षेत्र नं. १ मा ४ जना र क्षेत्र नं. २ मा ६ जनाले चुनावी आम्दानी खर्च विवरण बुझाएको निर्वाचन अधिकृत थापाले बताउनुभयो । अधिकृत थापाका अनुसार क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरे, नेशनल रिपब्लिक पार्टीका अर्जुनकुमार गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार रनबहादुर विश्वकर्मा र राप्रपाका उम्मेदवार हुकुमबहादुर रानाले आफ्नो चुनावी आम्दानी खर्च विवरण बुझाउनुभएको हो ।
अब क्षेत्र नं. १ मा ८ जना उम्मेदवारले आफ्नो चुनावी खर्च बुझाउन बाँकी छ । क्षेत्र नं. १ मा निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो भएका रास्वपा, कांगे्रस र एमालेका उम्मेदवारले आफ्नो चुनावी खर्च बुझाएका छैनन् । यता क्षेत्र नं. २ को निर्वाचनमा दोस्रो र तेस्रो भएका नेपाली कांग्रेस, एमालेले भने आफ्नो चुनावी खर्च बुझाएका छन् ।
क्षेत्र नं. २ मा नेपाली कांगे्रसका उम्मेदवार भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, स्वतन्त्र उम्मेदवार खिमबहादुर क्षेत्रि, नेशनल रिपब्लिक नेपालका उम्मेदवार तेजबहादुर थापा, मङगोल नेशनल अर्गनाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हरिदेव थापा गरी ६ जनाले आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । क्षेत्र नं. २ मा विजेता बनेको रास्वपा र अन्य गरी ६ जनाले आफ्नो चुनावी खर्च बुझाउन बाँकी छ ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषण भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च र आम्दानी विवरण निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । नेकपा एमालेका उम्मेदवार थापाले आईतबार सामाजिक सञ्जालमा पनि आफ्नो चुनावी खर्च सार्वजानिक गर्नुभएको छ । थापाले निर्वाचनमा १४ लाख २१ हजार १८०को खर्च विवरण सार्वजानिक गर्नुभएको छ ।
जसमा मनोनयन दर्तामा १० हजार, सवारी साधनमा ५ लाख ६० हजार, प्रचारप्रसारका क्रममा खाना, आवास तथा खाजा खर्च १ लाख ४० हजार ३८५, इन्धन खर्च ५४ हजार ३००, प्रचारप्रसार सामाग्री छपाई ६ लाख २४ हजार ४९५ र सवारी मर्मतमा ३२ हजार खर्च सार्वजानिक गर्नुभएको छ ।