समाचार
स्याङ्जामा अवैध नदीजन्य पदार्थ लोड भएको ट्याक्टर नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, १० चैत ।
स्याङ्जाको आँधिखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार गरिरहेको अवस्थामा प्रहरीले एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी सेतीदोभानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले आइतबार आँधीखोला गाउँपालिका वडा नं. ६ स्थित टारीखेतबाट ग १ त ४९८८ नम्बरको ट्याक्टरलाई अवैध नदीजन्य पदार्थ लोड गरी गुडिरहेको अवस्थामा फेला पारेको थियो। नियन्त्रणमा लिइएको उक्त ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आँधिखोला गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।