अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

विश्व क्षयरोग दिवस स्याङ्जामा पनि मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, ११ चैत । 
विश्व क्षयरोग दिवस स्याङ्जामा पनि मनाईएको छ ।  ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ ः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ स्याङ्जामा क्षयरोग सम्बन्धी अन्र्तक्रिया गरि मनाईएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको आयोजनामा स्वयंसेविका, पत्रकार, जनप्रतिनिधिहरुको सहभागितामा अन्र्तक्रिया गरि मनाईएको हो । अन्र्तक्रियामा समाजमा लुकेर रहेका क्षयरोगका संक्रमण पत्ता लगाई क्षयरोगको अन्त्य गर्न सरोकारपक्ष सबै लाग्नुपर्ने बताएका छन् । समाजमा अझैपनि रोग लुकाएर बस्दा यसले अन्यलाई रोग सार्ने चुनौती रहेको भन्दै सरकारले विभिन्न दातृ निकायहरुको सहयोगमा एआई स्क्यान शिविर समेत संचालन गर्दै आएको कार्यक्रममा जानकारी दिईएको थियो । 
नेपालले अबको ९ वर्ष अर्थात २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । नेपालमा ८० प्रतिशत फोक्सोमा लाग्ने क्षयरोग रहेको र फोक्सो बाहेक शरीरका अन्य भागमा करिव २० प्रतिशतमा देखिएको छ । विषेश गरी यो रोग एचआईभि संक्रमित, मधुमेह, क्यान्सर, मृगौला फेल भएका, कुपोषित, लागु पदार्थ दुव्र्यसनी र धूम्रपान गर्ने व्यक्तिहरुलाई छिटो संक्रमण गर्छ । क्षयरोग मुक्त नेपालका अभियानका लागि रोग पहिचान, रोग निदान, रोग रोकथाम, उपचार र प्रेषण यो चरण अपनाईएको छ । स्याङ्जामा जन्त्र सहयोग संस्थाले समेत क्षयरोग पहिचानका लागि विभिन्न पालिकाहरुमा शिविर संचालन गर्दै आएको छ । 
स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक, एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले कार्यक्रममा जानकारी दिएको हो ।
जिल्लामा अहिले १६० जना क्षयरोगका बिरामीले औषधी सेवन गरेको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । यहाँ सबै भन्दा धरै वालिङ नगरपालिकामा ५० जना र सबैभन्दा कम फेदी खोला गाउँपालिकामा दुई जना क्षयरोगका बिरामी रहेका छन् ।
यस्तै गल्याङ नगरपालिकामा २९, कालीगण्डकी गाउँपालिकामा र चापाकोट नगरपालिकामा १४, १४ जना, भीरकोट नगरपालिकामा १३ जना, पुतलीबजार नगरपालिकामा ११ जना, बिरुवा गाउँपालिकामा १० जना, हरिनास आठ जना, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना, आँधी खोला गाउँपालिकामा चार जना क्षयरोगको बिरामी रहेका छन् । कार्यक्रममा कार्यालयका  मनिष झाले जिल्लामा क्षयरोगीको अवस्था, परिक्षणलगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटि, उपप्रमुख खड्कप्रसाद सुवेदीले क्षयरोग मुक्त नेपालका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 
सक्रिय उमेर समूहमै यो रोगको संक्रमण बढी भएकाले अरुमा सर्ने जोखिम पनि धेरै रहेको केन्द्रले जनाएको छ । लगातार खोकी लाग्ने, ज्वरो आउने, रोग लागेको लामो समयपछि खोकीमा रगत देखापर्ने, तौल घट्ने  र छाती दुख्ने वा असजिलो महसुस हुने जस्ता लक्षण देखा परेमा जाँच गर्न छातीरोग विशेषज्ञ डा. पुष्पा मल्लको सुझाव छ । 
क्षयरोगबाट बच्नका लागि चुरोट तथा रक्सी नखान, बढी धुवाँ वा धुलोबाट बच्न, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्न, बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउन र क्षयरोग लागेका व्यक्तिबाट अरुमा सर्ने भएकाले साबधानी अपनाउन विज्ञको सुझाव छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...