समाचार
गह्रौँशुर मन्दिरमा चैतेदशैँमा ६३ बलि प्रदान
रेडियो आँधीखोला
वालिङ, १३ चैत ।
वालिङ नगरपालिका –८ र गल्याङ नगरपालिका –१० को संगमस्थलमा अवस्थित ‘गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्र’ मा रहेको कालिका मन्दिरमा चैते दशैँ तथा महाअष्टमीको अवसरमा भक्तजनहरुको निकै उत्साहजनक सहभागिता रह्रयो । विषेश गरी बडादशैँ र चैते दशैँको अवसरमा भक्तजनको निकै भिड लाग्ने मन्दिरमा अन्य समयमा पनि भक्तजनहरु दर्शन तथा मन्दिर अवलोकनका लागि जाने गरेको छन् ।
यसपटकको चैते दशैँको अवसरमा मन्दिरमा द्धितिय तिथिदेखि नै भक्तजनहरु पूजापाठ तथा दर्शनका लागि पुगेका थिए । विहिबार अष्टमीको दिन मात्रै ६३ वलि दिईएको छ । जसमा ४ वटा पञ्चवली र ५९ वटा पाठाको बलि कालिका देविलाई दिईएको छ । त्यस्तै मन्दिरमा परेवा उडाउने र नगरिवल चढाउनेको पनि उस्तै भिड रहेको थियो । मन्दिरमा भोली नवमीको दिन बलि दिइँदैन भने दशमीमा बलि दिइन्छ । बलि नदिईने तिथिमा दर्शन तथा पुजापाठ भने खुल्ला रहनेछ । मन्दिरका कार्यालय सचिव थमन गुरुङका अनुसार मन्दिरमा आफ्नो मनोकांक्षा पूरा भएर भाकल लिएर आउने र मन्दिरमा आफ्नो मनोकामना पूरा होस भनी दर्शन गर्न आउने भक्तजनको भिड लागेको हो ।
तत्कालीन बाइसे–चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको मानिन्छ । विशेषगरी बडादसैं र चैते दसैंमा यहाँ हजारौंको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औंशी, सोह्र श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ ।
स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, कास्कीलगायत स्थानबाट मन्दिरमा बर्सेनी हजारौं भक्तजन पूजाआजाका लागि मन्दिर आउने गर्छन् । मन्दिरमा नयाँ भौतिक संरचना निर्माण भएपछि भक्तजनको सङ्ख्या बढेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको वालिङ बजारबाट मन्दिरसम्म पुग्ने सडकलाई सहज बनाइएको छ ।