समाचार
लायन्स क्लब अफ भीरकोटको चौथो अधिवेशन, अध्यक्षमा के.सी चयन
वालिङ, १६ चैत ।
लायन्स क्लब अफ भीरकोटको चौथो अधिवेशन सम्पन्न भएको छ । स्याङ्जाको बयरघारीमा सम्पन्न अधिवेशनले वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गर्दै क्लबको आगामी कार्यदिशा तय गरेको छ । अधिवेशनबाट लेख बहादुर के.सी. (किरण) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा इन्दिरा के.सी., द्वितीय उपाध्यक्षमा भविश्वर कोइराला, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजन सुनार, सहसचिवमा लाल बहादुर के.सी., कोषाध्यक्षमा नारायण प्रसाद कोइराला र सहकोषाध्यक्षमा जीवलाल बसेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक ढाकाराम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन ्।
नवनिर्वाचित अध्यक्ष लेख बहादुर के.सी. (किरण) ले क्लबलाई अझ सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गनुृभयो । उहांले समाजले युवाबाट राखेको अपेक्षा पूरा गर्ने, सेवा र मानवताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने तथा संस्थाको गरिमा र गतिलाई थप सुदृढ बनाउनेतर्फ आफू केन्द्रित रहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले लायन्स क्लब अफ भीरकोटले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । उहांले सेवाभाव भएका व्यक्तिहरूलाई एकीकृत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लब सफल भएको उल्लेख गर्नुभयो । अधिवेशनमा प्रमुख निर्देशक नुवादत्त अर्याल, जनसम्पर्क अधिकृत विश्वनाथ अर्याल तथा सल्लाहकार भक्तबहादुर के.सी. र तारा प्रसाद अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा आर्थिक वर्ष २०२५÷२६ का विभिन्न प्रतिवेदनहरू पनि प्रस्तुत गरिएका थिए । कोषाध्यक्ष राजन सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सचिव अमृत अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयोे। त्यसैगरी, अध्यक्ष चिन्तामणी चापागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।