समाचार
आजदेखी एसईई परिक्षा शुरु हुँदै, स्याङ्जाबाट ४ हजार २७५ जनाले एसईई दिँदै
रेडियो आँधीखोला
वालिङ, १९ चैत ।
आजदेखी यसवर्षको माध्यमिक शिक्षा परिक्षा एसईई शुरु हुँदैछ । एसईई परिक्षाको लागी सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाले जनाएको छ । स्याङ्जाबाट ४ हजार २७५ जना परिक्षार्थी एसईईमा सहभागि हुँदैछन् । शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख विश्वराज आचार्यले भन्नुभयो, “परिक्षाको तयारी पुरा भएको छ । उत्तरपुस्तिका परिक्षा केन्द्रमा र प्रश्नपत्र सम्बन्धीत परिक्षा केन्द्रहरुको सुरक्षा निकायमा पुगिसकेको छ । परिक्षा मर्यादित शान्ता वातावरणमा सम्पन्न गर्नेछौँ ।”
परिक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म सञ्चालन हुनेछ । यसपटक छात्रा भन्दा छात्रको संख्या धेरै देखिएको छ । २ हजार १०१ जना छात्राको संख्या हुँदा २ हजार १७४ जना छात्रको संख्या रहेको छ । यो पटकको एसईईमा छात्रा भन्दा छात्रको संख्या ७३ जनाले बढी देखिएको छ । त्यस्तै जिल्लामा प्राविधिकतर्फ ६ वटा विद्यालयका ११६ जना विद्यार्थीले एसईई दिने भएका छन् । यहाँको महिमा मावि हरिनास, नवज्योति मावि विरुवा, त्रिशहिद मावि आँधीखोला, पञ्चकन्य मावि अर्जुनचौपारी, पुर्णामत भवानी मावि वालिङ र भानुभक्त मावि गल्याङ गरी ६ वटा विद्यालयका ११६ जना विद्यार्थीले प्राविधिक तर्फबाट एसईई दिने भएको हुन् । त्यस्तैगरी धार्मिकतर्फ १६ विद्यार्थीले एसईई दिनेछन् ।
यहाँको गुरुकुल आँधीखोलाबाट ६ जना, रामनदी धाम गुरुकुल गल्याङबाट ७ जना, मणीमुकुन्देश्वर चापाकोटबाट २ जना र राधादामोदर संस्कृति विद्यालयबाट १ जना गरी १६ जनाले एसईई दिँदैछन् । ११ पालिका रहेको जिल्लामा हरेक पालिकामा परिक्षा केन्द्र तोकिएको छ । जिल्लाभर २१ परिक्षा केन्द्र रहेका छन् ।
परीक्षा बोर्डले यसवर्षको एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । र अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरमात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ ।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्वीर लिन पाउने छन् । परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यसदिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षा हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ । यसपटक सरकारले एसईइको नजिता एक महिनामै प्रकाशन गर्ने भनेको छ ।
यसवर्षको परिक्षामा आज पहिलो दिन अनिवार्य अग्रेजीको परिक्षा हुनेछ । भोली दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुँदैछ ।