समाचार
विचौलिया समातिए
रेडियो आँधीखोला
वालिङ, २४ चैत ।
सरकारी कार्यालयलाई विचौलियामुक्त बनाउने अभियानअन्तर्गत स्याङ्जामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१ स्थित मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो ।
सोही क्रममा हिजो सोमबार मालपोत कार्यालय अगाडि विचौलियाको काम गरिरहेको आरोपमा आँधीखोला गाउँपालिका–६ टिकाजाका ३० वर्षीय अमृत ढकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान सुरु गरिएको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
यसैबीच प्रहरीले नदिजन्य पदार्थ उत्खनन तथा ओसारपासारमा संलग्न ७ ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिना रसिद नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विभिन्न ईकाई कार्यालयहरुले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि सम्बन्धीत पालिकाहरूमा पठाईएको छ ।
ग. १ त. ६३५४ र ग.१ त. ७१३३ नम्बरको ट्याक्टर फेदीखोलामा, ग. १ त. ७३६९ र ग. १ त. ७५१३ नम्बरको ट्याक्टर आँधिखोला ६ टिकाजामा, ग. १ त. ५००५ र ग. १ त. ३१७८ ट्याक्टर आँधिखोला ५ सेतिखोलामा, ग.१ त. ६८८० नम्बरको ट्याक्टर हरिनास १ सालडाँडामाबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।