समाचार
वडास्तरमा अपांग संजाल विस्तार गरिँदै
रेडियो आँधीखोला
वालिङ, २४ चैत ।
वालिङ नगरपालिकामा वडास्तरीय अपांग संजाल विस्तारलाई तिव्र पारिएको छ । वालिङ अपांग संजालको आयोजना र नगरपालिकाको सहयोगमा वडा वडामा संजाल गठन गरिएको हो । १४ वडा रहेको यहाँका सबै वडामा वडास्तरीय संजाल गठन गरिँदैछ । शारिरिक तथा मानसिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक तथा राजनितिक क्षेत्रमा थप शसक्त बनाउँदै नगरस्तरीय संजालमा हरेक वडाका संजाललाई समेट्ने उद्देश्यले वडास्तरमा संजाल गठनलाई तिव्र पारिएको संजालका नगर सचिव दुर्गा न्यौपानेले बताउनुभयो ।
सामाजिक रुपमा नखुल्ने, हेय भावले खुम्चिएर बसेका अपांगता भएका व्यक्तिहरुको आयआर्जन विकास गर्नका लागि आवश्यकता अनुसारको तालिम, सचेतना तथा अभिमुखीकरण कार्यक्रम गर्न पनि थप सहयोग पुग्ने सचिव न्यौपानेले बताउनुभयो । आईतबार र सोमबार गरी ५ वटा वडामा वडास्तरीय संजाल गठन भएका छन् । वडा नं. ६ मा यामबहादुर थापा, ७ मा ओलबहादुर गुरुङ, ८ मा देउमाया गुरुङ, ९ मा टोपबहादुर विक र वडा नं. १० मा देविप्रसाद पंगेनीको अध्यक्षतामा वडास्तरीय अपांग संजाल गठन गरिएको हो ।
वडा नं. ५ मा छलफल सम्पन्न भएको छ भने नतृत्व टुंगिन बाँकी रहेको छ । हरेक वडामा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागितामा छलफल तथा भेला गरी संजाल गठन गरिएको हो । हरेक अपांग व्यक्तिमा आ–आफ्नै क्षमता हुने भएकाले अपांगता भएकालाई सम्मान गर्नुपर्ने संजालका नगर अध्यक्ष डेलबहादुर विश्वकर्माले बताउनुभयो । आफ्नो क्षमता अनुसारको सिप विकास तालिम प्रदान गरि आपंगता भएकालाई पनि आयआर्जनमा जोड्न संजालले नगरपालिकासंग माग गर्ने अध्यक्ष विकले बताउनुभयो ।