समाचार
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
वालिङ, १ बैशाख ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले वैशाख २ गतेबाट भर्ना अभियान शुरु गर्ने भएको छ । संघीय सरकारले देशभर वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरे यहाँको फेँदिखोला गाउँपालिकाले भने आफ्नै तालिका अघि सारेको हो । गाउँपालिकाले वैशाख २ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छे ।
वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र वैशाख ९ गतेबाट नियमित कक्षा सञ्चालनमा ल्याइने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गर्दै आवश्यक तयारी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय आवश्यकताका आधारमा शैक्षिक गतिविधि अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार छ । हामीले स्थानीय सरकार संचालन ऐन भित्र रहेर यो निर्णय गरेका हौँ ।”
बैसाख १७ गते अगाडि नै सबै परिक्षा सम्पन्न गरी बैसाख २३ गतेसम्म नतिजा प्रकाशन भईसकेको अवस्थामा बीचको १ महिने विदाले समयमै पाठ्यक्रम सम्पन्न गर्ने चुनौती समेत रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । हप्ताको दुई दिन विदा,अन्य सार्वजानिक विदा, पर्व विदा समेत गर्दा १०० दिन पनि पढाई हुन गाह्रो भएको भन्दै यो बीचको लामो विदाले थप प्रभाव पर्न सक्ने भएको स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर यो निर्णय गरेको अध्यक्ष सुवेदीको भनाई छ ।
पुरानै पाठ्यक्रम अनुसार अध्यापन गराउनुपर्ने अवस्था रहेको भन्दै विदा धेरै हुँदा पाठ्यक्रम सम्पन्न गर्न समेत चुनौती देखिएको छ । पालिकाले असअघिका शैक्षित्र सत्रहरुमा पनि बैसाख २ वा ४ गतेबाट नै भर्ना अभियान शुरु गरि अगाडि बढिएको भन्दै विद्यार्थी र अभिभावकहरुको हितलाई ध्यानमा राखेर यो निर्णय गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले शिक्षा शाखामार्फत वार्षिक शैक्षिक योजना तयार गरी सबै विद्यालयमा पठाउने कार्य पनि शुरु गरेकाले विद्यालयहरुले पनि आफ्नो वार्शिक क्यालेन्डर धमाधम सार्वजानिक गरेका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निर्णय गर्दा स्थानीय तहसँग पूर्वपरामर्श आवश्यक हने भन्दै संघीय सरकारलाई स्थानीय आवश्यकता अनुसार निर्णय गर्न दिन परिपत्रलाई मार्गनिर्देशकका रूपमा मात्रै लिन र तीन तहबीच समन्वय अझ सुदृढ बनाउन अध्यक्ष सुवेदीको आग्रह छ ।