अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वन डढेलोको घटनामा कमी

news

 
वालिङ, २ बैशाख । 
स्याङ्जामा वन डढेलो घटनामा कमी देखिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वन डढेलोको घटनामा कमी आएको हो । यो तथ्यांक सामुदायिक वन र राष्ट्रिय वनको हो । डिभिजन वन कार्यालयले राष्ट्रिय र सामुदायिक वनको मात्रै तथ्यांक संकलन गर्ने भएकाले यसमा निजि वनको भने तथ्यांक समावेश गरिएको छैन् । आर्थिक वर्ष २०७९÷०८० मा ३२ वटा स्थानका राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्दा २८८ हेक्टर वन क्षेत्रमा क्षति पुगेको थियो । 
त्यस्तै २०८०÷०८१ मा ५३ स्थानका राष्ट्रिय र सामुदायिक वनमा डढेलो लाग्दा ४९७.२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने आर्थिक वर्ष २०८१÷०२ मा २० वटा वन डढेलोका घटना घटेका थिए । उक्त घटनामा २३०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्रमा क्षति भएको थियो । 
त्यस्तै चालु वर्षमा भने आँधीखोला गाउँपालिकाको राम्चे क्षेत्रमा सानो स्तरको डढेलो बाहेक ठूलो क्षति भएको घटना सार्वजनिक भएको छैन । उक्त क्षेत्रको झाडी तथा घाँसे वनमा ५.६७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यो ३ आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ सतही डढेलो लागेको देखिन्छ भने त्यसयता भने झाडी र घाँसे जमिनमा डढेलो लागेको छ । 
चैत–वैशाखको खडेरीसँगै हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने उल्लेख्य रूपमा कमी आएको देखिएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठूलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने अवस्था रहने गरे पनि अहिले स्थिति केही सुधारिएको छ ।
वन अधिकृत अमरबहादुर पराजुलीका अनुसार पछिल्लो समय मानिसहरु निकै सचेत भएका छन् । उहाँले भन्नुभयो, “चालु वर्षमा हामीले वालिङ र पुतलीबजारमा वनमा आगो लगाएको आरोपमा ३ जनालाई मुद्धा चलाएका छौँ । वनमा आगो लगाउनु कानुनी अपराध हो । यसमा सबै सचेत हुन आवश्यक छ ।” वनमा आगो लगाउनेलाई ३ वर्ष कैद र ६० हजार जरिवाना वा दुवै सजाँय हुन सक्ने कानुनी प्रावधान छ । डिभिजन वन कार्यालय, प्रहरीले समय समयमा सचेतनामुलक कार्यक्रम गर्नुका कारण पनि डढेलोका घटना कम भएको वन अधिकृत पराजुलीले बताउनुभयो । 
यो वर्ष भने समय–समयमा भएको वर्षा, सचेतनामूलक कार्यक्रम र पूर्वतयारीका कारण डढेलो नियन्त्रणमा सकारात्मक प्रभाव परेको डिभिजनल वन अधिकृत प्रमुख नवराज बरालले बताउनुभयो  ।  फागुन–चैतको सुख्खा मौसममा समेत बीच–बीचमा भएको वर्षाले वन क्षेत्र हरियाली बनाइराख्न मद्दत गरेको छ । साथै, वन कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक अभियान र डढेलो नियन्त्रणका पूर्वतयारीले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...