अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आँधीखोला किनारमा फल्यो तरबुजा

 
वालिङ, ३ बैशाख । 
स्याङ्जाको भिरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेको छ । नगरपालिकाले बगरक्षेत्रमा परीक्षणका लागि तरबुजा खेती सुरु गरेको थियो  । 
नगरपालिकाले सञ्चालन गरिरहेको भिरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तरबुजा खेती गर्न सुरु गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका लागि बगर र खोलाको किनारक्षेत्रमा तरबुजा लगाउन सुरु गरेका थियौँ, अहिले फल दिन थालेको छ ।” परीक्षण सफल भएमा आँधीखोला किनारमा व्यावसायिक तरबुजा खेती गर्ने योजना बनाएको उहाँले बताउनुभयो । फल लाग्न थालेपछि आफू उत्साहित भएको भिरकोटका कृषक पुष्पा अर्यालले बताउनुभयो । अर्का कृषक गुमादेवी तिवारी पनि तरबुजाको फल लागेपछि खुसी हुनुभएको छ । उहाँहरू मात्रै होइन, भिरकोटका तरबुजा खेती गर्ने सबै कृषक उत्साहित भएका छन् । 
भिरकोट क्षेत्रको हावापानी, माटो तरबुजा खेतीका लागि उपयुक्त देखिएकाले परीक्षणका लागि खेती लगाउन सुरु गरिएको भिरकोट नगरपालिकाका कृषि शाखा प्रमुख श्रवणकुमार विष्टले जानकारी दिनुभयो । पालिकाले व्यावसायिक रूपमा अगाडि बढाउन पहिलो चरणमा बिउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरेको थियो । लक्ष्मी र सरस्वती दुई जातका तरबुजा परीक्षणका लागि रोपिएको परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...