समाचार
स्याङ्जाका निजी विद्यालयहरुमा सोमबारदेखि पठनपाठन शुरु
रेडियो आँधीखोला
वालिङ, ८ बैशाख ।
स्याङ्जाका संस्थागत (निजी) विद्यालयमा हिजो (सोमबार)देखि नियमित पठनपाठन सुरु भएको छ । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्थागत विद्यालयले हिजोबाट नियमित पढाइ सुरु गरेका हुन् । स्याङ्जाको केन्द्र मानिएको वालिङका सबै निजि विद्यालयमा सोमबारदेखि पठनपाठन शुरु भएको छ । जिल्लामा वालिङ र भीरकोटका निजि विद्यालयहरु सोमबारदेखि सुर भएपनि अन्य पालिकाहरुमा यहि बैसाख ९, १० र केहि पालिकाहरुमा १५ गतेदेखि पठनपाठन सूचारु गर्ने जानकारी प्राप्त भएको प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र गोदारले बताउनुभयो ।
लामो समयको विदाले विद्यार्थीको पठनपाठनमा प्रभाव पार्ने भन्दै यहाँका केहि स्थानीय तहले विद्यालय सुचारु गराउन सूचना समेत जारी गरेका छन् । यसअघि यहाँको फेँदिखोला, विरुवा र चापाकोटले सूचना जारी गरेर नै विद्यालय भर्ना र पठनपाठन शुचारु गर्न आग्रह गरेका थिए । वालिङस्थित पाइनियर्स माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले अभिभावकहरू ‘कहिलेदेखि पढाइ सुरु हुन्छ’ भन्दै विद्यालयमै आउने गरेको बताउनुभयो ।
कतिपय विद्यालयले भने विद्यार्थीलाई ‘फ्रि पुस्तक’ अभियानमा सहभागी गराउने योजना रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्याब्सनका केन्द्रीय सदस्य होमकान्त गौतमले विद्यार्थीलाई फरक प्रकृतिका क्रियाकलापमा सहभागी गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालय आउँछन्, तर उनीहरू फरक प्रकृतिका क्रियाकलापमा सहभागी हुन्छन् ।”
सरकारको निर्देशन पालना गर्दै विद्यार्थीलाई नैतिक शिक्षा सिकाउने र सामाजिक बनाउने अभियानमा जोड्ने उहाँको भनाइ छ । जिल्लाभरी आधारभुत तथा मावि गरी ३८ वटा निजि विद्यालयहरु रहेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष तथा पिसजोन इन्टिगे्रटेड एकेडेमीका प्रिन्सीपल अमृत डुम्रेले बताउनुभयो । सामुदायिक विद्यालयहरूले भने पालिकाको निर्देशनको प्रतीक्षा गरिरहेको बताएका छन् । पठनपाठन शुरु गर्नुअघि वालिङका निजि विद्यालयहरुले नगरपालिकालाई जानकारी सहितको ज्ञापनपत्र बुझाएका थिए ।