समाचार
वालिङले भन्यो १० गतेबाट पठनपाठन शुरु गर्नु, कक्षा ९ बजेबाट शुरु
रेडियो आँधीखोला
वालिङ, ९ बैशाख ।
वालिङ नगरपालिकाले बैसाख १० गतेबाट नियमित रुपमा पठनपाठन शुचारु गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले यहि बैसाख १० गतेबाट नियमित रुपमा पठनपाठन संचालन गर्ने र विद्यालय समय विहान ९ बजेबाट शुरु गर्न भनिएको हो । विद्यालय समय अबदेखि विहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । यसअघि विहान १० देखि ४ सम्म संचालन हुँदै आएको विद्यालयहरु अब १ घण्टा छिटो खुल्नेछन् । अन्य कार्यालयहरु जस्तै विद्यालयहरुमा पनि हप्ताको दुई दिन विदा रहनेछन् ।
उक्त विदाबाट विद्यार्थीमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै १ घण्टा छिटो विद्यालय संचालन गर्ने निर्णय भएको नगरप्रमुख कृष्ण खांणले बताउनुभयो । यहाँका विद्यालयहरुको सल्लाहमा नगरले यस्तो निर्णय गरेको प्रमुख खांणले बताउनुभयो । उहाँले भन्नुभयो, “हप्तामा दुई दिन विदा, अन्य सार्वजानिक विदाहरुले पुरानै मोडलको पाठ्यक्रम समयमै सम्पन्न गराउन पनि समस्या हुँने भएकाले यो निर्णय गरेका हौँ ।” लामो विदाले विद्यार्थीको पठन संस्कृतिमा पनि ह्रास आउने भएकाले १ घण्टा छिटै विद्यालय संचालन गराउने निर्णय गरिएको प्रमुख खांणले बताउनुभयो ।
सरकारले भने यहि बैसाख १५ गतेदेखि भर्ना अभियान र बैसाख २१ गतेदेखि विद्यालय संचालन गराउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । तर स्थानीय तहहरुले धमाधम आफ्नो एकल अधिकार प्रयोग गर्दै सरकारले तोकेको समय अगावै विद्यालय संचालन गर्न गराउने निर्णय गरेका छन् । यसअघि यहाँका ३ वटा पालिकाले विद्यालय संचालन गर्ने निर्णय गरिसकेका छन् । यहाँका अधिकांश निजि विद्यालयहरु भने सोमबारदेखि खुलेका छन् । सामुदायिक विद्यालय भने स्थानीय तहको निर्णयको प्रतिक्षा गरिरहेका थिए ।