समाचार
चुरापोते तथा डलकुशन उत्पादन सम्बन्धी तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, ११ बैशाख ।
वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा बिहीबारदेखि एक हप्ते चुरापोते तथा डलकुशन उत्पादन सम्बन्धी तालिम शुरु भएको छ । तालिमको हिजो वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी गैह्रेले समुद्घाटन गर्नुभएको हो । उपप्रमुख तिवारीले तालिम लिईसकेपछि सिकेको शीपलाई ब्यवहारमा उतार्नु पर्ने र उद्यमशील बनी आयआर्जनमा जोडिनुपर्नेमा जोड दिनुभयो । वालिङ नगरपालिका र वालिङ उद्योग वाणिज्य संघबीच नङ र मासुको सम्बन्ध भएकोले सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप विभिन्न कायक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
यस क्षेत्रका उद्यमउन्मुख महिलाहरुका लागि लक्षित गर्दै उक्त तालिम आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, पूर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, महिला उद्यमी विकास समितिका सचिव सीता ढुङ्गाना अधिकारी लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । २३ जना महिलाहरुको सहभागिता रहेको तालिममा ख्यामकुमारी क्षेत्रिले सहजीकरण गर्नुभएको छ ।