समाचार
कालीगण्डकी जलविद्युत परियोजना मर्मत गरिँदै, ड्यामको गेट खोलिने भएकाले नदि किनारमा सर्तक रहन आग्रह
रेडियो आँधीखोला
वालिङ, २५ बैशाख ।
बैसाख २५ गते आज शुक्रबारदेखि कालीगण्डकी ए जलविद्युत आयोजना मर्मत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले बैसाख २५ गते साँझ ५ बजेबाट मर्मत सम्हारका क्रममा ३ वटै र्टरबाईन मेसिन बन्द हुने र सुरुङ हुँदै पावरहाउसमा जाने पानी डाईर्भसन गरी ड्यामका सबै गेट खोलिने जनाएको छ । नदी पुरानै बहाब क्षेत्रमा बग्ने भएकाले नदीको सतह बढ्ने हुँदा स्याङ्जा, गुल्मी, पाल्पा र पर्वतका प्रशासन तथा प्रहरी कार्यालयहरुलाई प्राधिकरणले जानकारी गराएको छ ।
कालीगण्डकी नदी किनार तथा आसपासका क्षेत्रमा निर्माणजन्य सामान वा अन्य कुनै सामानहरु भएमा तुरुन्तै हटाउन तथा यो समयमा नदी किनार तथा आसपासमा नजान प्राधिकरणले आग्रह गरेको छ । ड्यामको गेट २९ गते पुन बन्द गरिने प्राधिकरणले जनाएको छ । १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत आयोजना स्याङ्जाको मिर्मिमा रहेको छ । सन १९९७ तिर निर्माण शुरु गरिएको आयोजनाले सन २००२ बाट उत्पादन शुरु गरेको थियो । यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाईनमार्फत देशका विभिन्न भागमा वितरण गरिएको छ ।