समाचार
गण्डकी प्रदेशद्धारा उन्नत बीउ उत्पादनमा ८० लाख अनुदान
वालिङ, २८ बैशाख ।
कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशले उन्नत बीउ उत्पादनमा ८० लाख अनुदान सहयोग गर्ने भएको छ । यो वर्ष बीउ उत्पादनमा रु. ८० लाख अनुदान सहयोग गर्ने गण्डकी प्रदेश कृषि विकास स्रोतकेन्द्र वालिङ स्याङ्जाले जानकारी दिएको हो ।
यस अन्तर्गत बीउ उत्पादक कृषक समूह, सहकारी लगायत बीउ उत्पादक फर्महरुले अनुदान सहयोग प्राप्त गर्ने छन् । यसैगरी बीउ प्रशोधन तथा भण्डारण उपकरण (मेशिनरी उपकरण) मा ७५ प्रतिशत, बीउ भण्डारण तथा बीउ प्रशोधन केन्द्र निर्माणका लागि (यस अन्तर्गत समूह सहकारीको हकमा ८५ प्रतिशत र फर्म वा कम्पनीको हकमा ५० प्रतिशत) अनुदान सहयोग गरिने गण्डकी प्रदेश कृषि विकास स्रोतकेन्द्र वालिङ स्याङ्जाका प्रमुख सुदिप रेग्मीले जानकारी दिनुभयो ।
यी सबैमा गरेर यो वर्ष रु.८० लाख अनुदान सहयोग गरिने कार्यक्रम रहेको केन्द्रका प्रमुख रेग्मीले बताए । यसका साथै बीउ उत्पादक कृषक र कृषि प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिने छ ।
यो कार्यक्रमकोे प्रभाव किसानहरुले उन्नत बीउ सरल तरिकाले प्राप्त गर्ने, उन्नत बीउको पहुँच र उपलव्धतामा देखिने विश्वास लिइएको छ । यसका साथै बाहिरबाट बीउ ल्याउनुपर्ने अवस्थाको न्यूनिकरणसँगै नेपालको आम्दानी नेपालमै रहने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
उत्पादित उन्नत बीउका लागि कार्यालयले विक्रिको स्थान तोकिदिने, संघीय सरकारको समन्वयमा दर भाउ कायम गर्ने र विक्रि गर्ने स्थानका बारेमा समेत समन्वय गरिदिने केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो ।
यसका साथै आगामी वर्षदेखि कार्यालय आँफैले ८० देखि १०० रोपनीसम्म जग्गा भाडामा लिएर खाद्यान्न, दलहन, तेलहन लगायतको मूल बीउ उत्पादन गर्ने प्रकृया अगाडि बढाइएको उनले जानकारी दिनुभयो । जसले गर्दा उन्नत बीउको उपलव्धतामा सहज हुने, उत्पादनमा वृद्धि ल्याउनुका साथै विदेशी बीउको प्रयोगमा न्युनिकरण गर्ने र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास लिइएको छ ।
अहिलेसम्म मूल बीउ (नेपाल कृषि अनुसन्धान परिषद) नार्कबाट ल्याउने गरिन्थ्यो भने यो कार्यक्रम सञ्चालन भएसँगै कार्यालयले नै उपलव्ध गराउन सक्ने छ । यसैगरी आगामी वर्षदेखि रैथाने बाली अन्तर्गत कोदोको बीउ उत्पादन गर्ने तयारीमा लागिएको समेत केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो ।
यसैबीच यो वर्ष स्याङ्जाका किसानहरुले ९५ टन धानको बीउ विक्रि गर्न सफल भएका छन् । गएको वर्ष उत्पादन गरेको उन्नत बीउ यो वर्ष विक्रि गर्न सफल भएका उहांले उल्लेख गर्नुभयोे । जिल्लाका क्रियाशील किसानहरुले उत्पादन गरेका रामधान, सावित्री, साभा मन्सुली सव–१, हर्दिनाथ–६ लगायतका जातको धानको बीउ विक्रि गरिएका हुन् । उक्त बीउ कृषि विकास स्रोत केन्द्रको समन्वयमा विक्रि वितरण गरिएको हो ।