समाचार
वालिङमा गण्डकी प्रदेश स्तरीय ७ दिने योग शिविर सुरु
रेडियो आँधीखोला
वालिङ, २८ बैशाख ।
स्याङ्जाको वालिङमा गण्डकी प्रदेश स्तरीय सात दिने योग शिविर सुरु भएको छ । वालिङ नगरपालिकाको आयोजना र महिला पतञ्जली योग जिल्ला समिति स्याङ्जाको संयोजनमा वृहत योग विज्ञान शिविर तथा ७ दिने आवाशीय सह–योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।
“गरौं योग, रहौं निरोग” भन्ने मूल नारासहित वालिङस्थित खेलमैदानमा सञ्चालन भएकोे कार्यक्रमको वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह्रेद्वारा पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभयो । योग शिविरको उद्दघाटन गर्दै उपप्रमुख तिवारीले योगले मानव जिवनलाई स्वस्थ र फुर्तिलो बनाउने बताउनुभयो । बढ्दो आधुनिक जिवनशैलीका कारण पछिल्लो समय दिर्घरोगीको संख्या बढिरहेको भन्दै दैनिक योग स्वस्थ जिवनको आधार भएको बताउनुभयो ।
पतञ्जली योग नेपाल अन्तर्गत सञ्चालित पतञ्जली योग समिति र महिला पतञ्जली योग समितिद्वारा सञ्चालित गण्डकी प्रदेश स्तरीय बृहत निःशुल्क योग विज्ञान शिविर तथा ७ दिने प्रशिक्षण तालिमको मुख्य प्रशिक्षक पतञ्जली योगपीठ हरिद्वारकी महिला योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी साध्वी देवादिति रहनुभएको छ ।
योग शिविर दुई प्रकारको गरिने आयोजकले जनाएका छन् । विहान ५ बजेदेखि ७ः३० बजेसम्म निःशुल्क योग विज्ञान शिविर हुनेछ भने विहान ८ बजेदेखि साँझ ८ बजेसम्म योग सम्बन्धी आवाशीय सह–योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिने छ । आयोजकका अनुसार आवाशीय सह–योग शिक्षक प्रशिक्षण तालिमका लागि रु.२ हजार शुल्क लाग्ने छ ।
सह–योग शिक्षक प्रशिक्षणमा सहभागी भएर तालिम लिनेहरुले पतञ्जली योग पीठको सदस्यता प्राप्त गर्ने छन् । यो तालिम लिएकाहरुले पतञ्जली योगपीठको प्रमाणपत्रको साथमा स्थायी परिचयपत्र समेत प्राप्त गर्नेछन् । प्रमाणपत्र र परिचयपत्र पाएसँगै विभिन्न समयमा पतञ्जली योगपीठ हरिद्वारमा हुने कार्यक्रममा सहभागिताका लागि प्रवेश पाउनेछन् ।
योगपीठको सदस्यता लिन नचाहनेहरुले पनि यो तालिममा सहभागी हुनसक्नेछन् । तर योगपीठको सदस्यता, प्रमाणपत्र र परिचयपत्र भने पाउने छैनन् ।
योग शिविर तथा शिक्षक प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ५÷५ जनाको प्रतिनिधिमूलक सहभागिता रहेको आयोजकले जनाएको छ । यसका साथै स्याङ्जा जिल्लाका ११ वटै पालिकाबाट १० जनाको दरले सहभागिता रहेको छ ।
कार्यक्रमको संयोजन गरेको महिला पतञ्जली योग जिल्ला समितिका अनुसार आवाशीय तालिमका लागि सयको हाराहारीमा उपस्थिति भैसकेको छ । अरु थप सहभागिता जनाउनेहरु सम्पर्कमा आएका छन् । विहान १० देखि ११ बजेसम्म विद्यार्थीहरुका लागि समय निर्धारण गरिएको छ भने दैनिक ४ वटा विद्यालयका विद्यार्थीलाई योग शिविरको अवसर प्रदान गरिने छ ।