समाचार
मंसिर ४ को लक्ष्य ः वालिङ बालमैत्री र पोषणमैत्री पालिका अभियानमा
वालिङ, ५ जेठ ।
आगामी मंसिर ४ गते बालमैत्री स्थानीय तह घोषणा गर्ने उद्देश्यसहित वालिङ नगरपालिकाले विभिन्न सूचकलाई प्राथमिकतामा राखेर चरणबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैक्रममा नगरपालिकाले बृहत् पोषण विशेष -CNSI_कार्यक्रमअन्तर्गत १४ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै चारदिने तालीम सञ्चालन गरेको छ । तालीममा पोषण अवस्था पहिचान, कुपोषण न्यूनीकरण, गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण व्यवस्थापन, समुदायस्तरमा पोषण सचेतना अभिवृद्धि लगायतका विषयमा सहजीकरण गरिनेछ ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले बालमैत्री स्थानीय तह घोषणा गर्न सबैभन्दा पहिले नगरबासीहरू पोषणमैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्वस्थ, सक्षम र सचेत बालबालिका निर्माणका लागि पोषण क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । बालबालिकाको समुचित विकासका लागि परिवार, समुदाय र स्वास्थ्यकर्मी सबैको साझा जिम्मेवारी रहने उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले १४ वटै वडाका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै वालिङ नगरपालिकालाई पोषणमैत्री पालिका घोषणा गर्ने अभियानमा नगरपालिका अघि बढिरहेको बताउनुभयो । उहाँले पोषण सुधारसँगै बाल स्वास्थ्य, शिक्षा र समग्र विकासमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ख्याम नारायण काफ्ले तथा भोजराज बगालेले बालमैत्री स्थानीय तह घोषणा केवल औपचारिक प्रक्रिया नभई बालबालिकाको अधिकार सुनिश्चित गर्ने अभियान भएको बताउनुभयो । उहाँहरूले स्वास्थ्य, शिक्षा, सरसफाइ र पोषणका सूचक पूरा गर्दै नगरपालिकाले समग्र सामाजिक विकासलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।
वालिङ नगरपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको देखिन्छ । विशेषगरी पोषण, खोप, मातृ तथा शिशु स्वास्थ्य, सरसफाइ र स्वास्थ्य सचेतनामा निरन्तर लगानी गर्दा बालमैत्री स्थानीय तह घोषणाका सूचक पूरा गर्न सहज हुने नगरपालिकाको बुझाइ छ ।