समाचार
स्याङ्जामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न
वालिङ, १३ जेठ ।
मनसुन तथा वर्षायाम नजिकिँदै गर्दा सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि स्याङ्जामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल को अध्यक्षतामा बसेको बैठकमा जिल्लामा वर्षायामका समयमा हुन सक्ने बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्का घटनाबाट हुने क्षति कम गर्न आवश्यक पूर्वतयारी, समन्वय र उद्धार व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो ।
बैठकमा जिल्लाका विभिन्न स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित सरकारी कार्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा जोड दिएका छन् ।
बैठकमा स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिमयुक्त बस्ती तथा स्थानहरुको पहिचान गर्ने, आवश्यक सतर्कता अपनाउने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा सुरक्षित स्थानको व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय तहबीच प्रभावकारी समन्वय गरी विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्ने तयारीलाई मजबुत बनाउने निर्णय गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले विपद् व्यवस्थापन केवल एउटा निकायको जिम्मेवारी नभई सबै पक्षको साझा दायित्व भएको बताउनुभयो । उहाँले वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै निकायलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच निरन्तर समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको उल्लेख गर्दै सम्भावित विपद्बाट नागरिकको जिउधनको सुरक्षा गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो ।
बैठकमा विपद्को समयमा आवश्यक पर्ने उद्धार सामग्री तयारी अवस्थामा राख्ने, जोखिमयुक्त सडक तथा बस्तीहरुको नियमित अनुगमन गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आकस्मिक अवस्थामा तत्काल परिचालन हुन सक्ने संयन्त्र तयार राख्ने विषयमा समेत जोड दिइएको थियो ।
समितिले वर्षायामभर जिल्लाका सबै निकायलाई उच्च सतर्कतामा रहन आग्रह गर्दै सम्भावित विपद्बाट हुने क्षति न्यूनिकरणका लागि समन्वयात्मक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।