समाचार
अकला नमूना साना किसान कृषि सहकारी संस्थाद्धारा कृषकलाई अनुदानमा सुन्तलाका बेर्ना वितरण
रेडियो आँधीखोला,
वालिङ २३ जेठ ।
वालिङमा रहेको अकला नमूना साना किसान कृषि सहकारी संस्थाले कृषकलाई अनुदानमा सुन्तलाका बेर्ना वितरण गरेको छ । कृषकको मागका आधारमा शनिबार ७५० बेर्ना वितरण गरिएको सहकारीका प्रबन्धक लक्ष्मी रेग्मीपोख्रेलले बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जा ५० पतिशत अनुदानमा ल्याईएको बेर्ना सहकारीले कृषकलाई मागको आधारमा वितरण गरिएको हो । १०० रुपैँया पर्ने बिजु सुन्तलाका बेर्ना कृषकले ५० प्रतिशत अनुदानमा ६० रुपैँयामा प्राप्त गरेका हुन् ।
५० प्रतिशत अनुदानमा ५० रुपैँया र ढुवानी तथा लोड अनलोडको १० रुपैँया गरी ६० रुपैँया प्रति बेर्ना पर्न गएको प्रबन्धक पोख्रेलले बताउनुभयो । १५०० बेर्ना कार्यालयसंग सम्झौता भएको र बाँकी ७५० पनि ल्याएर कृषकलाई वितरण गरिने उहाँले बताउनुभयो । प्रतिकिसान ३२ देखि १२० वटा सम्म मागको आधारमा वितरण गरिएको सहकारीले जनाएको छ । सहकारीले समय समयमा मौसम अनुसारका तरकारी तथा फलफूलका बेर्ना र खाद्यान्न बालीका बिउ विजन समेत कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ ।