समाचार
गल्याङमा दुईदिवसीय कवितालेखन प्रशिक्षण कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २५ जेठ ।
“भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गरौँ“ भन्ने मूल नाराका साथ वि.सं. २०८१ मा स्थापना भएको गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा “दुईदिवसीय कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नगरको पहिचान केवल भौतिक पूर्वाधारमा मात्र सीमित नभएर यहाँको भाषा, कला र साहित्यको विकासमा पनि जोडिएको बताउनुभयो। नगरपालिकाका तर्फबाट भाषा र संस्कृतिको उत्थानका लागि सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख भट्टराईले यस्ता प्रशिक्षणले स्थानीय प्रतिभाहरूलाई प्रस्फुटित हुन र नेपाली साहित्यमा गल्याङको बलियो उपस्थिति जनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाको सभाकक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा साहित्यका विभिन्न विधामा केन्द्रित रहेर देशका प्रतिष्ठित स्रष्टाहरूले सहजीकरण गर्नुभएको थियो। जसअन्तर्गत वरिष्ठ स्रष्टा कलानिधि दाहालले शास्त्रीय छन्द र मुक्तलय, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्द तथा युवा स्रष्टा एवं साहित्यिक अभियन्ता मिलन समीरले गजल र मुक्तक विधामा प्रशिक्षणात्मक सहजीकरण गर्नुभएको थियो। सोही अवसरमा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई नगदसहित ‘गल्याङ प्रज्ञा सम्मान’ द्वारा सम्मानित समेत गरिएको थियो ।
समापन सत्रमा प्रशिक्षार्थी तथा आमन्त्रित स्रष्टाहरूले आ–आफ्ना उत्कृष्ट साहित्यिक सिर्जनाहरू प्रस्तुत गरेका थिए। रचना वाचन गर्नेहरूमा सिर्जना खनाल, झवनाथ बस्याल, गुरुप्रसाद ढकाल, डिल्लीराम भण्डारी, रमेश कुख्यात, पार्वती थापा पल्ली मगर “पारु“, राम ज्ञवाली, जि.बी. राना, इन्द्रप्रसाद पाठक, लक्ष्मी पाठक, इच्छा खड्का, निशु गौचन, निश्मा थापा, भोजराज भण्डारी, ताराकुमार परियार, सुजन भण्डारी, यामुन सुवेदी, सुरज रेग्मी, प्रेमबन्धु सुवेदी, संगम थापा, चण्डिकाप्रसाद भट्टराई, कल्पना दाहाल, हेमा तिमिल्सिना न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, कलानिधि दाहाल र मिलन समीर लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो।
प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य जि.बी. रानाको स्वागत मन्तव्यबाट सुरु भएको समापन सत्रमा प्रशिक्षार्थीहरुको तर्फबाट पार्वती थापा पल्ली मगर “पारु“ र राम ज्ञवालीले आफ्नो अनुभव मन्तव्य राख्नुभएको थियो भने डिल्लीराम भण्डारीले प्रशिक्षणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकोे संयोजन तथा सञ्चालन गल्याङ प्रज्ञा प्रतिष्ठानका सचिव एवं युवा स्रष्टा मिलन समीरले गर्नुभएको थियो ।