अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

खुमा अर्याल फाउण्डेसनद्धारा आयव्यय विवरण सार्वजनीक

 
वालिङ, २८ जेठ । 
खुमा अर्याल फाउण्डेसन स्याङ्जाले पत्रकार सम्मेलन आयोजना गरी आफ्ना कार्यक्रम र सन्चालित गतिविधिहरुबारे जिल्ला स्थित क्रियाशिल पत्रकारहरुलाई जानकारी दिएको छ । फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माद्वारा प्रस्तुत गरिएको आयव्यय विवरणमा आर्थिक वर्ष २०८२÷८३ मा करिब ८५ लाख रुपियाँ आम्दानी तथा ९७ लाख बराबरको खर्च विवरण उल्लेख छ भने करिब ११ लाख रुपियाँ चालु आर्थिक वर्षमा सापटी तथा भुक्तानी दिन बाँकी रहेको उल्लेख छ । 
अध्यक्ष शर्माद्वारा प्रस्तुत गरिएको सो प्रतिवेदनमा फाउण्डेसनले आर्थिक वर्ष २०८२÷८३ मा खासगरी शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् तथा रोजगारीको क्षेत्रमा गरेका नविनतम् कार्यक्रमहरुको आर्थिक संगै सम्पुर्ण कार्यक्रमिक विवरण प्रस्तुत गरिएको छ । अध्यक्ष शर्माका अनुसार फाउण्डेसनले स्याङ्जा जिल्लाभित्र शिक्षामा विभिन्न स्थानिय तहसंगको समन्वयमा गरिब तथा विपन्न बर्गका झण्डै २ हजार बढी विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण, कम्प्युटर तथा अन्य प्राविधिक सामग्री र शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ भने स्वास्थ्यमा बृहत् स्वास्थ्य शिविर, प्राथमिक उपचार कक्ष स्थापना लगायतका कार्यक्रमहरु गरिएको छ । 
यस्तै खेलकुद तर्फ ऐतिहासिक महत्वको प्रथम खुमा अर्याल कप टि ट्वान्टि क्रिकेट लिग २०८२ पालिका स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ भने विपद् व्यवस्थापनमा विभिन्न समयमा आपत्कालिन र अल्पकालिन डेस्क सन्चालन गरेको छ । कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले खुमा अर्याल फाउण्डेसनले गरेका सम्पुर्ण रचनात्मक कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । 
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, पुतलीबजार शिक्षा शाखा अधिकृत शोभा बस्याल, नेपाल क्रिकेट संघ स्याङ्जाका कोषाध्यक्ष अनुपम मरासिनी लगायतले आफ्ना मन्तव्यहरु व्यक्त गरेका थिए । सम्मेलनमा पत्रकार प्रकाश डोटेल लगायतले जिज्ञासा प्रस्तुत गर्नुभएको थियो । फाउण्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव ध्रुव शर्माले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...