समाचार
स्याङ्जामा उठ्यो बालश्रम विरुद्ध आवाज ः बालबालिकाको सुरक्षा, स्वास्थ्य र सम्मानको रक्षामा जोड
रेडियो आँधीखोला,
वालिङ २९ जेठ ।
बालश्रमको समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ स्याङ्जामा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइएको छ । एकीकृत सेवा कार्यालयको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा æबालश्रमलाई रातो कार्ड ः बालबालिकाको लागि निष्पक्ष खेल, वयस्कको लागि मर्यादित कामÆभन्ने मुल नाराका साथ अर्जुनचौपारी गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा बालश्रम विरुद्ध दिवस मनाइएको हो ।
प्रभातफेरि पछी भएको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय सबैको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छन् । कार्यक्रममा वडा अध्यक्ष रणबहादूर थापाले बालबालिकालाई सम्मानजक जीवन विताउन बालश्रमको अन्त्य अति आवश्यक रहेको बताउदैँ स्थानीय बालमैत्री शासन स्थापित गर्न पालिका अगाडी बढिरहेको बताउनु भयो ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल्यकाल हाँसखेल, मनोरञ्जन, माया, ममता र गुणस्तरीय शिक्षाको छहारीमा वित्नुपर्ने कुरामा जोड दिदैँ बालबालिकाको बाँच्न पाउने, संरक्षणसँगै विकास र सहभागिताको अधिकार सुनिश्चिताको बाल बालश्रम अन्त्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी चौकी अर्जुनचौपारीका प्रहरी सहायक निरिक्षक रुद्र बहादूर रिमालले बालश्रम कानुन र संविधानले वर्जित गरेको कुरा बताउनुभयो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न साहित्य र सिर्जना मार्फत् बालअधिकारको सुनिश्चिततासँगै बालश्रमको अन्त्यको लागि आवाज उठाएका थिए । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यालयको तर्फबाट बालबालिकाको हातमा ईटा होइन कापी, कलम र पुस्तक हुनुपर्छ भन्ने सन्देश दिन बालबालिकालाई कापि कलम र बालसाहित्य पुस्तक प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम प्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चालन अर्जुनचौपारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मनिषा घिमिरेले गर्नुभएको थियो ।नेपालको सविधानले भाग ३ को धारा ३९ मा बालअधिकारसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । हाल नेपालका ११ लाख बालबालिका बालश्रम गर्न बाध्य रहेको तथ्याङ्क रहेको छ ।