समाचार
भीमटारीमा दुई दिने उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न
वालिङ, ३१ जेठ ।
स्याङ्जाको वालिङ–८ स्थित भीमटारी सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित दुई दिने उद्घोषण प्रशिक्षण कार्यक्रम हिजो समापन भएको छ । दुईदिने तालिम समापनको अवसरमा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले बोल्ने कला सबै व्यक्तिमा हुनुपर्ने भन्दै बोल्ने कला र शैली भएको मान्छे फरक हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय महासङ्घ गण्डकी प्रदेशकी सहसचिव सरस्वती तिवारी, वडाका कार्यवाहक अध्यक्ष चोलाकान्त अर्याल, सदस्य कविता परियाले मन्तव्य राख्दै प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभएको थियो ।
कुल ४० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक टिकराज गुरुङ र रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले प्रशिक्षण दिनुभएको थियो । दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई उद्घोषण कला, मञ्च सञ्चालन तथा व्यक्तित्व विकासका विविध आयामबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
तालिम समापनको अवसरमा सहभागीहरूको तर्फबाट बबी गुरुङ, सृजना पराजुली, लीलादेवी सुवेदी, सुरेश पंगेनी र सीता सुवेदीले आफ्नो अनुभव तथा भनाइहरू राख्दै तालिम अत्यन्तै फलदायी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।