समाचार
गल्याङमा कृषि बजार केन्द्र सञ्चालनमा
वालिङ, ३ असार ।
स्याङ्जाको गल्याङमा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको छ । गल्याङ नगरपालिकाको कृषि क्षेत्रको विकास तथा स्थानीय कृषकलाई उत्पादनको उचित बजार सुनिश्चित गर्ने उद्देश्यले गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा पकवादी कृषि सहकारी संस्था लिमिटेडद्वारा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
गल्याङ नगरपालिका–३, गल्याङबजार नजिपँधेरास्थित सहकारीको आफ्नै सङ्कलन केन्द्रमा बुधबार आयोजित एक कार्यक्रमका बीच कृषि बजार केन्द्रको शुभारम्भ गरिएको हो। बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकहरूले आफ्ना कृषि उपजहरू सोझै बजारमा ल्याएर बिक्री गर्न सक्ने तथा उपभोक्ताले ताजा, गुणस्तरीय र स्थानीय उत्पादन एकै स्थानबाट खरिद गर्न सक्ने व्यवस्था भएको छ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले कृषिलाई व्यवसायिक र आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले उत्पादन बढ्दै गए पनि बजारको अभावका कारण किसानहरू समस्यामा पर्ने गरेको उल्लेख गर्दै अब कृषक र उपभोक्ताबीचको दूरी घट्ने विश्वास व्यक्त गर्नुभयो।
कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्न र उपभोक्ताले ताजा तथा सुरक्षित कृषि उपज सहज रूपमा प्राप्त गर्न कृषि बजार केन्द्र महत्त्वपूर्ण माध्यम बन्नेछ, नगर प्रमुख भट्टराईले भन्नुभयो, गल्याङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि किसानमैत्री योजनाहरूलाई निरन्तरता दिनेछ ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले कृषि बजार केन्द्रले स्थानीय उत्पादनको प्रवद्र्धनसँगै महिला तथा साना किसानहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि बजार केन्द्रलाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बजार केन्द्रले स्थानीय उत्पादनको संकलन, वर्गीकरण र बिक्री वितरणलाई व्यवस्थित बनाउँदै कृषि मूल्य शृङ्खलालाई बलियो बनाउने उल्लेख गर्नुभयो।
अधिकृत अधिकारीले कृषकहरूलाई उत्पादनको गुणस्तर कायम राख्न तथा उपभोक्ताको विश्वास जित्न आग्रह गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ र प्रवद्र्धनमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
सहकारीका अनुसार बजार केन्द्रमा मौसमी तरकारी, फलफूल, खाद्यान्न, दाल, मसला तथा अन्य स्थानीय कृषि उपजहरू बिक्रीका लागि उपलब्ध गराइनेछ । किसानहरूले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बजार केन्द्रमा ल्याएर बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ।