समाचार
अर्जुनचौपारीको नयाँ नीति सार्वजनिक
वालिङ, ६ असार ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय मौलिकता, आत्मनिर्भरता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रमा राखिएको छ ।
पालिकाले विगत चार वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाउने जनाएको छ । गाउँपालिकाले विद्यालय तहमा सञ्चालन हुँदै आएको एआई (ब्क्ष्) आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक विद्यालयमा ‘ट्यालेन्ट मेन्टर’ र ‘स्पोट्र्स कोअर्डिनेटर’ शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ ।
साथै, ‘चेन्ज मेकर्स क्लब’ मार्फत नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिनेछन् । कक्षा १ देखि ८ सम्म संस्कार शिक्षालाई अनिवार्य बनाउँदै वैदिक सदाचार, योग, बुद्धका पञ्चशील तथा पञ्चमहायज्ञमा आधारित पाठ्यक्रम लागू गरिने भएको छ । शिक्षक क्षमता विकास, पठन सीप सुधार र विद्यालय शिक्षा सुधार अभियानलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रमलाई थप विस्तार गरिने भएको छ । यसअन्तर्गत मनोसामाजिक परामर्श सेवा समेत समावेश गरिनेछ । ‘कृषि र पशुपालन समृद्धिको आधार’ भन्ने अवधारणासहित गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने नीति अघि सारेको छ ।
बीउबिजन, सिँचाइ र प्राविधिक सेवाको विस्तार गर्दै प्राङ्गारिक खेती, रैथाने बीउ संरक्षण तथा परम्परागत बालीको प्रवद्र्धन गरिनेछ । नवग्रह कृषि फर्मलाई गुणस्तरीय बीउ उत्पादन केन्द्रका रूपमा विकास गरिने तथा कृषकका लागि तकावी कर्जा अभ्यास सुरु गरिने भएको छ । उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई ५० युनिटसम्म विद्युत् महसुल छुट, स्वास्थ्य बीमा, बीउ पूँजी कार्यक्रम र अन्य सहुलियत उपलब्ध गराउने नीति पनि सार्वजनिक गरिएको छ ।
नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाइने भएको छ । गाउँपालिकाका अनुसार हाल मासिक करिब ३० हजार पर्यटक अर्जुनचौपारी भित्रिने गरेका छन् । विगत चार वर्षमा करिब ४३ किलोमिटर सडक कालोपत्रे गरेको गाउँपालिकाले आगामी वर्षदेखि निर्माण सम्पन्न सार्वजनिक संरचनाको वार्षिक ‘पूर्वाधार अडिट’ गर्ने भएको छ ।