समाचार
भीरकोट नगरपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुतः “एक व्यक्ति एक तालिम“ देखि निःशुल्क स्वास्थ्य सेवासम्मका योजना
वालिङ, ८ असार ।
भीरकोट नगरपालिकाले “सम्वृद्ध भीरकोटको आधारः कृषि पर्यटन आधीखोलाको उपहार“ भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ । सिमित स्रोत र साधनका बावजुद सुशासन, सामाजिक विकास, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राख्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाको हालसम्मको समग्र विकास खर्च प्रगति ६१% रहेको र आन्तरिक राजस्व असुली ४६.२२% भएको समीक्षा रिपोर्ट प्रस्तुत गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अघि सारेको छ ।
नगरपालिकाले विगत ४ वर्षको अवधिमा भएका विकास निर्माण, सेवाप्रवाह र सुशासनका क्षेत्रका उपलब्धिलाई समेटेर श्वेतपत्र जारी गर्नेछ । एक व्यक्ति एक तालिमः तालिममा हुने दोहोरोपना अन्त्य गर्न र पहुँच नपुगेकाहरूलाई प्राथमिकता दिन यो कार्यक्रम लागू गरिने नगरपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ । बयरघारी बजार र सिद्धार्थ राजमार्गका संवेदनशील क्षेत्रमा सिसीटिभी जडान गरिनेछ भने डिजिटल नागरिक वडापत्र परिमार्जन गरिनेछ ।
वित्तीय सुशासन कायम गर्न खरिद गुरुयोजना र भ–दष्ममष्लन प्रणाली अनिवार्य गर्दै शून्य बेरुजुको नीति लिइनेछ । नगरबासीले बुझाउनुपर्ने नियमित कर तथा राजस्व घरबाटै डिजिटल प्रविधिमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइने निति नगरपालिकाले लिएको छ ।
गुणस्तरीय सडक र ल्याब परीक्षणः मुख्य सडकहरूलाई संघ र प्रदेशको सहकार्यमा स्तरोन्नति गर्दै योजनाको भुक्तानीपूर्व अनिवार्य प्रयोगशाला (ल्याब) परीक्षण गर्ने उल्लेख छ । हाल ९५% घरधुरीमा पुगेको खानेपानीको पहुँचलाई आगामी वर्ष शतप्रतिशत लक्ष्य नगरपालिकाको छ । “स्वच्छ घरआँगन, सफा टोल, नगर, हाम्रो अभियान“ अन्तर्गत कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्ने नगरपालिकालको निति तथा कार्यक्रममा उल्लेख छ ।
कक्षा ८ सम्म पूर्ण निःशुल्क शिक्षाः आधारभूत तह (बाल विकासदेखि कक्षा ८ सम्म) मा भर्ना, शिक्षण शुल्क, परीक्षा र पाठ्यपुस्तक शुल्क पूर्ण रूपमा निःशुल्क गरिनेछ भने कक्षा ६ सम्मका बालबालिकाका लागि दिवा खाजामा स्थानीय कृषि उपजको प्रयोग अनिवार्य गरिनेछ ।
नगर अस्पतालको भवनमा प्रदेश सरकार र अन्य स्थानीय तहको समन्वयमा मृगौला पीडितका लागि डायलासिस केन्द्र स्थापना गर्ने महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षणः १६ देखि ६० वर्षमुनिका महिलाहरूका लागि स्तन क्यान्सर र पाठ्यघरको मुखको क्यान्सर पहिचानका लागि ख्क्ष्ब् परीक्षण निःशुल्क गर्ने जनाएको छ।
अनुदान वितरणलाई सरल र प्रत्यक्ष उत्पादनसँग जोड्न किसान सूचीकरण गरी परिचयपत्र वितरण गर्ने र चालु वर्ष सफल भएको तरबुजा खेती र अकबरे खुर्सानी उत्पादन गरि बजारीकरण गर्ने निति नगरले लिएको छ।
पशुजन्य उत्पादन बढाउन निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिनेछ र उन्नत राँगो÷साँढे वितरण गरिनेछ । छाड्छाडी, स्वरेक मैदान, गडहरे गुफा, खिलुङ कालिका लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिनेछ । नगरपालिकाले प्रस्तुत गरेका यी नीति तथा कार्यक्रमहरूले भीरकोटको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।