समाचार
कालीगण्डकीमा ५६ करोड ८१ लाखको बजेट, पूर्वाधार विकासमा जोड
वालिङ, १० असार ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ५६ करोड ८१ लाख ८१ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरण, बाँडफाँड भई प्राप्त हुने राजस्व, रोयल्टी र गाउँपालिकाको आन्तरिक स्रोत समेतलाई समेटेर उक्त बजेट सार्वजानिक गरेको हो । सार्वजनिक विवरण अनुसार आगामी आर्थिक वर्षको क्षेत्रगत बजेट विनियोजनमा पुँजीगत खर्चतर्फ ३० प्रतिशत र चालु खर्चतर्फ ७० प्रतिशत बजेट छुट्याइएको छ ।
संघीय समानिकरण अनुदानतर्फ ९ करोड ३१ लाख, ससर्त अनुदान चालुतर्फ २२ करोड ८४ लाख, ससर्त अनुदान पुँजीगततर्फ ३० लाख, विशेष अनुदान चालुतर्फ १ करोड ६२ लाख र समपूरक अनुदानतर्फ १ करोड ८७ लाख गरी संघीय सरकारबाट कुल ३५ करोड ९४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेश सरकारबाट समानिकरण अनुदानतर्फ १ करोड १९ लाख ८५ हजार, विशेष अनुदानतर्फ ४० लाख र समपूरक अनुदानतर्फ ६० लाख गरी कुल २ करोड १९ लाख ८५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट ७ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान छ । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर र घर जग्गा रजिस्ट्रेसन करबाट ८५ लाख रुपैयाँ प्राप्त हुने विवरणमा उल्लेख छ । यसका साथै जलविद्युत सम्बन्धी रोयल्टी, वन र आन्तरिक स्रोतबाट कुल १० करोड ३ लाख २३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कुल १२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक पूर्वाधारमा ७ करोड ८४ लाख रुपैयाँ, भवन, आवास तथा बस्ती विकासमा ४ करोड १५ लाख रुपैयाँ, ऊर्जा र विद्युतमा ३० लाख रुपैयाँ, सूचना र प्रविधिमा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय समपूरक अनुदान र गाउँपालिकाको साझेदारीमा सञ्चालित कट्टी सुल्सुले सडकको स्तरोन्नतिका लागि २ करोड ५४ लाख र रुद्रवेणी हटिया रानीघाट सडकका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारको समपूरक अनुदान र गाउँपालिकाको म्याचिङ फण्ड (६०–६० लाख रुपैयाँ) गरी हटिया चिउरीबोट सडकका लागि कुल १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ।